aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

अपि पावरको हकप्रद शेयर बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० असोज २०८०
अपि पावरको हकप्रद शेयर बाँडफाँट

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले साउन ३१ गतेदेखि भदौ १९ गतेसम्म विक्री गरेको हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले असोज ८ गते रितपूर्वक आवेदन दिएका १ लाख १० हजार ५६१ जना आवेदकहरूलाई १ करोड ५३ लाख ३८ हजार २०३ कित्ता हकप्रद शेयर बाँडफाँट गरेको हो ।

कम्पनीले असार २१ गतेसम्म कायम शेयरधनीहरूका लागि ४० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रूपैयाँको आधारमा १ बराबर शून्य दशमलव ४० को अनुपातमा प्रतिशेयर १०० रूपैयाँ अंकित दरको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।

पहिलो चरणमा वितरण हुन नसकेको ११ लाख ९४ हजार ९३४ कित्ता हकप्रद शेयर असोज १७ गतेदेखि लिलामीमा ल्याउने मिति कम्पनीले तय गरेको छ । असोज २४ गतेसम्म विक्रीमा रहने कम्पनीको अवितरित हकप्रद शेयरको मूल्य प्रतिकित्ता १०० रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता माग गर्दै आवेदन दिन सकिनेछ ।

विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडर र मुक्तिनाथ विकास बैंकको भक्तपुर, ललितपुर, विराटनगर, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बुटवल, दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन फारम प्राप्त गर्न र बुझाउन सकिनेछ ।

लिलामीमा आउने सम्पूर्ण कित्ता हकप्रद शेयर बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी ५ अर्ब ७८ करोड ६५ लाख रूपैयाँभन्दा बढी पुग्नेछ । गत चैत ६ गते हकप्रद शेयर निष्कासनका लागि बोर्डमा निवेदन पेश गरेको कम्पनीले असार ६ गते बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले निर्माणाधीन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद शेयर निष्कासन गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस