ललितपुर थैनाका सजिभ शाक्य रंगहरूसँग खेल्न थालेको २५ वर्ष भइसक्यो । उनले आफ्नो जीवन यात्रामा चित्रकलाबाहेक अन्य केही सोचेनन् । १४ वर्षको उमेरदेखि चित्रकारितामा रमाएका उनी विशेषगरि आध्यात्मिक चित्र कोर्छन् । चलनचल्तीको शब्दमा भन्दा ‘आर्ट’ बनाउँछन् ।
बाल्यकालदेखि कै लगाव
सानैदेखि उनी किताब पल्टाउँदा समेत अक्षरभन्दा बढी चित्रहरूमा ध्यान दिने गर्थे । बाल्यावस्थाबारे सम्झिँदै उनी भन्छन्, 'त्यसै बेलादेखि नै म स्केचहरू बनाउने गर्थेँ। किताबहरू पल्टाउँदा मलाई अक्षरमा भन्दा बढी चित्रहरूमा ध्यान जान्थ्यो । चित्र बनाउन मात्र रहर लाग्थ्यो । अन्य विषयमा भन्दा चित्र बनाउने विषयमा मेरो नम्बर धेरै आउँथ्यो।’
स्कुल पढ्दा उनले कोरेका चित्रहरू शिक्षकहरूले कक्षाकोठाको भित्तामा सजाएर राखिदिने गर्थे । सबैले 'राम्रो चित्र बनाउनु हुन्छ' भनेर प्रशंसा गर्दा आफूलाई हौसला मिल्ने उनी सुनाउँछन् ।
उनीसंगैका साथी धन कमाउन बिदेसिँदा समेत उनलाई त्यता तिर रुचि भएन । नेपालमै बसेर कलाको साधना गर्ने आफ्नै रहरले रोक्यो, उनलाई। ‘मलाइ धन कमाउन बाहिर जान मन नै लागेन । बरु घुम्नका लागि हो भने मन लाग्छ । सँगैका साथीहरू धेरै बाहिर गएका छन्, मा चाहिँ गइन’, शाक्यले भने ।
रङ्गसँग जोडिएको सपना
उनको राम्रो आर्ट बनाउने सपनासँग छुट्टै लगाव छ । त्यसैले उनका धेरैजसो दिनहरू घरभित्रै रङ्गहरूसँग खेल्दै बित्ने गर्छ । त्यसबाहेक उनले धातुमा चित्र कुद्ने (मेटल इम्बोष्ट)को काम पनि गर्दै आएका छन्।
आर्टलाई अध्यात्मासँग गाँसेर प्रभावकारिता बढाउन चाहन्छन्, उनी । त्यसैले उनले बनाएका धेरैजसो चित्रहरूले आध्यात्मिक सन्देशहरू प्रवाह गरिरहेका भेटिन्छन् । उनका चित्रहरूमा रङहरू जति सूक्ष्म छन्, उति नै उनको कामको दार्शनिक आधारहरू पनि।
‘कला भनेको भावना हो, जसले तपाईँलाई चित्रमा चित्रण गर्न आकर्षित गर्दछ । जबसम्म तपाईँ भावनालाई आत्मसात् गर्नुहुन्न तबसम्म तपाईँले कुनै पनि अर्थपूर्ण चित्रण गर्न सक्नुहुन्न’, उनी भन्छन् ।
अध्यात्म झल्कने चित्रण
१५ वर्षको हुँदा उनलाई मुटु सम्बन्धी रोगले सताएको थियो । उनलाई छिनछिनमा ह्रदयघात हुने गर्दथ्यो । त्यस बेला ध्यान पनि गर्ने गरेका थिए । सो समयमा उनले विभिन्न अध्यात्मक कुराहरू सिके । जुन कुरा आर्टको माध्यमबाट उनले बाहिर ल्याउन थाले । जसले गर्दा पनि उनलाई यो क्षेत्रमा कला भर्न झनै रुचि बढ्दै गयो ।
शाक्य भन्छन् 'मैले आर्ट बनाउन सिक्दै गर्दा अध्यात्मसँग पनि जोडिँदै गएँ। म आफैमा आध्यात्मिक खालको मानिस भएर पनि होला, यस क्षेत्रमा भिजेको । आध्यात्मिक खालका चित्र बनाउन मलाई छुट्टै लगाव छ ।’
जीविकाको माध्यम बनेको चित्रकारिता
सुरुवातमा उनले एउटा, दुइटा आर्ट बनाएर बेच्ने गर्दथे । आफ्नो कलाकारिता किन्ने मानिस कोही भेट्दैन थिए । त्यस बेला उनले बनाएका आर्टहरूलाई उनका बुवाको साथीले बिक्री गर्नका लागि सहयोग गर्ने गरेको उनी स्मरण गर्छन् ।
'सुरुवातमा मैले बनाएको एउटा आर्टबाट पाँच हजार रुपैयाँ आम्दानी भएको थियो । त्यसपछि भने थप आर्ट बनाउने रुचि जाग्यो’, उनले अगाडी सुनाए, 'सुरुमा आर्थिकको हिसाबले आर्ट बनाउने गरेको थिइन । तर, पछि बिस्तारै कमाइ हुन थालेपछि यसैलाई आम्दानीको स्रोत बनाउँदै आएँ।’
अहिले उनी एउटा आर्ट बिक्री गरेर २५ लाख रुपैयाँसम्म आम्दानी गर्छन् । ‘हामीले बनाएको आर्टहरूको आम्दानी यति नै हुन्छ भन्ने हुँदैन । नियमित आम्दानी पनि हुँदैन । राम्रो ग्राहक भेटियो भने राम्रै आम्दानी पनि हुन्छ । भेटिएन भने हुँदैन पनि’, उनले भने ।
आर्थिक हिसाबले नियमित आम्दानी जस्तो नदेखिए पनि यो क्षेत्रमा रुचि हुनेहरूको लागि राम्रो रहेको सुनाउँदै शाक्य अगाडी भन्छन्, '‘यसमा मेहनत धेरै नै छ । एउटै आर्ट बनाउनका लागि एक वर्ष देखी १० वर्षसम्म लाग्ने गर्छ । सानो सानो पेन्टिङहरू एक दुई महिनामा नै पनि बनाउने गरेका छौँ । लगनशील भएर यसै क्षेत्रमा लाग्छु भन्नेहरूका लागि राम्रै छ ।’
रुचाउँदैनन अर्डरको काम
उनलाई विभिन्न खालको आर्ट बनाउनका लागि अर्डरहरू पनि आइरहेको हुन्छ । तर, उनी अर्डरको काम गर्न खासै रुचाउँदैनन् । ‘अर्डर आएको आर्टहरू बनाउन खासै मन लाग्दैन । जब आफ्नै मनबाट बनाइन्छ त्यसमा आफ्नै फिल हुन्छ अनि मात्रै राम्रो हुन्छ’, शाक्यले सुनाए ।
उनले बनाएका चित्रहरूको बजार नेपालमा भन्दा बढी विदेश नै हो। उनले बनाएका आर्टहरू ताइवान, अमेरिका र चीनमा बिक्री हुने गरेको छ । केही मात्रामा नेपाली ग्राहकहरू पनि रहेको उनले जानकारी दिए ।
परिवारको साथ
आर्ट बनाउँदै गर्दा उनले आध्यात्मिक विषयहरूमा धेरै कुरा सिक्ने जान्ने अवसर समेत पाए । पेन्टिङ बनाउनका लागि उनलाई उनकी श्रीमती र भाइले पनि मद्दत गर्छन् । उनीहरूको पनि यसै क्षेत्रमा रुचि रहेकाले यसमै लागेका छन् ।
विशेषगरि उनका भाइ सनम शाक्यले भने उनले बनाएका आर्टहरूको बिक्रीका लागि सहयोग गर्ने गरेका छन् । उनकी श्रीमती भने सजिभसंगै रङ्गहरूमा दिनचर्या बिताउन चाहन्छिन् । उनी पनि विभिन्न खालको आर्टहरू बनाउने गर्छिन्।
स्वदेशीलाई निःशुल्क कक्षा
उनीहरूले बनाएका आर्टहरू पाटनमा रहेको एउटा पुरै घरमा सजाएर राखेका छन् । उनले आफ्नो घरको तीन तलाका पुरै भित्ताहरूमा आफूले बनाएका आर्टहरूले भरेका छन् । जहाँ स्वदेशी तथा विदेशी आर्ट पारखीहरू आउने गरेका छन् । नेपालमा भन्दा धेरै आर्ट बनाउनेहरूको लागि बाहिर धेरै सम्भावना रहेको उनको अनुभव छ ।
उनले आर्ट बनाउन चाहानेहरुका लागि निःशुल्क सिकाउने गरेका छन् । तर, उनले विदेशबाट सिक्न आउनेहरूसँग भने शुल्क लिने गरेका छन् । ‘विदेशीहरुसँग शुल्क लिएर सिकाउने गरेको छु । विशेषगरि अमेरिका र चीनबाट आर्ट सिक्न आउने गरेका छन् । उनीहरूसँग पैसा लिएर सिकाउने गरेपनि नेपालीहरूसँग भने पैसा नलिई सिकाउने गरेको छु’, उनले भने ।
नेपाल घुम्न आएका विदेशी पर्यटकहरूले समेत नेपाली आर्ट बनाउन सिक्न आउने गरेका छन् । नेपालमै सिकेकाहरूले बनाएका आर्टहरू भने उनले बिक्रीका लागि सहयोग गर्ने गरेका छन् ।
खस्कियो कलाको पनि बजार
कोरोना महामारी पछि भने आर्टको बजार खस्किएको छ । ‘कोरोना महामारीअघि आर्टको बजार राम्रो थियो । तर, महामारी यता खासै यसको बजार छैन । अझ भूकम्पअघि भने धेरै नै राम्रो बजार थियो । कमाइ पनि राम्रो थियो’, उनले भने ।
उनी आफूले बनाएका चित्रहरू विदेशमा समेत प्रदर्शनीका लागि आफैले लैजाने तयारीमा रहेका छन् । ‘यसअघि अरूले हामीले बनाएको चित्रहरू लैजाने गरेका थिए । तर, हामी आफैले लगेका थिएनौँ । अब आफैले पनि लैजाने की भनेर सोचिरहेका छौँ’, उनले भने ।
फोटो तथा भिडियोः श्यामसुन्दर गौरो
प्रतिक्रिया दिनुहोस