aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एउटा त्यस्तो रेस्टुरेन्ट जहाँ खाएर पैसा नतिरी हिँडे हुन्छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ असोज २०८०
एउटा त्यस्तो रेस्टुरेन्ट जहाँ खाएर पैसा नतिरी हिँडे हुन्छ

एजेन्सी। कल्पना गरौँ कुनै एउटा त्यस्तो रेस्टुरेन्ट जहाँ खाना पाइन्छ तर मूल्य सूची अर्थात् मेनु भने छैन । खाना खाइसकेर पैसा तिर्ने काउन्टर नै छैन । त्यस्तो रेस्टुरेन्ट पनि कसैले खोल्छ ?

हो, यस्तै प्रकारको एक रेस्टुरेन्ट छ, अमेरिकाको अलाबामा राज्य स्थित सानो सहर ब्रुटनमा । जहाँ जो कोही गएर खाना खान सक्छ तर पैसा भने आफ्नो मनखुसी तिरे हुन्छ । पैसा छैन भने नतिरे पनि हुन्छ । खाने हिँड्ने गरे हुन्छ ।

त्यहाँ के के पाइन्छ भन्ने उल्लेख छ तर मेनुमा कुनै मूल्य छैन। किनकि तपाईँले जे जति सक्नुहुन्छ त्यति मात्र तिरे हुन्छ। सो रेस्टुरेन्टका मालिक हुन्, लिसा र फ्रेडी म्याकमिलन।

विगत पाँच वर्षदेखि सञ्चालित द्रेक्जिल एण्ड हनीबिज् खाँचोमा परेकाहरूका लागि तातो खाना खुवाउने केन्द्र बनेको छ । अलाबामा-फ्लोरिडा सीमा नजिक रहेको यो अनौठो रेस्टुरेन्टले हप्ताको तीन दिन परम्परागत खाना खुवाउने गर्छ । यहाँ औसत दिनमा ग्राहकको सङ्ख्या १०० भन्दा बढी हुन्छ। कोही-कोहीले खानाको सामान्य खर्चभन्दा बढी तिर्छन्, तर, दान पेटिकामा धन्यवाद पत्र भने हाल्न पाइँदैन । त्यहाँ आफुलाई मन लागेजती पैसा हालेर हिँड्न पाइन्छ।

समाचारमा उल्लेख भए अनुसार यस्तो रेस्टुरेन्ट लिसा म्याकमिलनको दिमागको उपज हो ।एक वृद्ध महिलाले खाना मागे पछि उनले खाना पकाएर दिन थालिन्। त्यसपछि पैसा नभएकालाई निःशुल्क र अरूसँग स्वेच्छाले मूल्य लिने गरी यो रेस्टुरेन्ट खोलिएको हो ।

त्यो रेस्टुरेन्ट खोल्न उनको जोडीले एउटा रक्सी पसललाई १ लाख डलर जति खर्च गरेर नयाँ स्वरूपमा ढालेका थिए । यसले अहिले दक्षिण अमेरिकाको परम्परागत शैलीको खाना पाउने घरका रुपमा आफ्नो परिचय बनाएको छ।

स्थानीय सञ्चारमाध्यमसँग म्याकमिलनले भनिन् "म धेरै खुसी छु कि परमेश्वरले मलाई प्रकाशको साथ आशिष् दिनुभयो। पैसा तब मात्र राम्रो हुन्छ जब तपाईँ अरू मानिसहरूलाई मद्दत गर्न सक्नुहुन्छ ।”

रेस्टुरेन्टले भान्सा कोठामा सघाउन केही सहयोगी हातहरू पनि प्रयोग गर्ने गरेको छ किनकि दैनिक १०० जना भन्दा बढी ग्राहकहरूको लागि खाना पकाउनु दुई व्यक्तिको लागि मात्र गाह्रो काम हुन्छ । यस वर्षको सुरुमा म्याकमिलनले सामाजिक सञ्जालमा स्वयंसेवकहरूको लागि अनुरोध गर्दै एउटा पोस्ट गरिन्। त्यो पोस्टपछि सम्पर्कमा आएकी ब्रिटनी फुक्वा एक मात्र व्यक्ति हुन् जसले हरेक हप्ता आफ्नो समय दान गर्ने गर्छिन् । भाँडा धुनेदेखि लिएर मुस्कानका साथ खाना खुवाउन मद्दत गर्ने उनी सबै काम गर्छिन्। "म यहाँ आउने मानिसहरूलाई चिन्न मन पराउँछु। समुदायमा मद्दत गर्न पाउँदा साँच्चै सन्तोष लागेको छ ” उनले भनिन्। 

प्रतिक्रिया दिनुहोस