aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

मनसुन औसत मितिभन्दा केहि दिन ढिलो बाहिरिने सम्भावना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १३ असोज २०८०
मनसुन औसत मितिभन्दा केहि दिन ढिलो बाहिरिने सम्भावना

काठमाडौं । नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहेतापनि यस वर्षको मनसुन औसत मितिभन्दा केहि दिन ढिलो बाहिरिने सम्भावना देखिन्छ। हाल बंगालको खाडीको उत्तर-पश्चिम भागमा विकास भैरहेको न्यून चापीय क्षेत्र उत्तर-पश्चिम दिशा तर्फ सर्ने संभावना देखिएकोले आगामी ३ र ४ दिनसम्म देशका धेरै स्थानहरुमा आंशिकदेखि सामान्य बदली भई केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा तथा कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको देखिन्छ। 

यस अवस्थामा, पहाडी भू-भागमा पहिरोको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह केही बढ्न सक्ने, दैनिक जन(जीवन तथा सडक, हवाई यातायात समेत केही प्रभावित हुन सक्ने सम्भावना भएको तथा बाली भित्र्याउने बेला पनि भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ। मौसम पूर्वानुमान महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको छ र यस सम्बन्धी थप जानकारी अद्यावधिक गर्दै जानेछ।

शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस