aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

कर्जमा लगानी गर्ने रकमको अभाव झेल्दै बैंकहरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ असोज २०७६
कर्जमा लगानी गर्ने रकमको अभाव झेल्दै बैंकहरु

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमास नसकिँदै बैंकिङ प्रणालीमा कर्जा लगानीयोग्य रकम अभावको समस्या देखिएको छ । गत आर्थिक वर्षमा दोस्रो त्रैमास सुरु हुँदा देखिएको समस्या चालू आर्थिक वर्षमा झनै छिटो देखिएको हो। 

कर्जाको माग उच्च तथा सीमित निक्षेपको स्रोतका कारण बैंकहरूले बर्सेनि कर्जा लगानीयोग्य रकम अभावको समस्या झेल्नुपरेको बैंकरहरू बताउँछन् । त्यसका साथै चालू आर्थिक वर्षको साउन अन्तिमसम्ममा सरकारी ढुकुटीमा १३७ अर्ब मौज्दात छ । विभिन्न बैंक तथा वित्तीय संस्थाका खातामा रहेको रकम पनि यसमा समावेश छ । सरकारले कर उठाउने तर समयमा खर्च नगर्ने प्रवृत्तिका कारण पनि बैंकिङ प्रणालीमा समस्या दोहोरिरहने गरेको उनीहरूको विश्लेषण छ।

गत आर्थिक वर्षको अन्तिम त्रैमासमा बैंकहरूले १७५ अर्ब निक्षेप संकलन गरेका थिए। सो अवधिमा बैंकहरूले ७८ अर्ब कर्जा प्रवाह गरेका थिए । गत आर्थिक वर्षको निक्षेपबाट बैंकहरूले चालू आर्थिक वर्षमा लगानी गर्न सक्ने रकम भनेको करिब ७८ अर्बमात्र हुन आउँछ । तर, बैंकहरूले चालू आर्थिक वर्षको पहिलो त्रैमास नसकिँदै अर्थात् असोजको १० गतेसम्ममा ९९ अर्ब कर्जा प्रवाह गरिसकेका छन् । 

चालू आर्थिक वर्षको असोज १० गतेसम्ममा बैंकहरूले ४८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। नेपाल बैंकर्स संघको तथ्यांकअनुसार बैंकहरूले असोज १० गतेसम्ममा ११६ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्न सक्छन् । यो अवधिमा बैंकहरूले ९९ अर्ब लगानी गरिसकेको हुँदा १७ अर्ब रुपैयाँमात्र लगानी गर्न सक्ने क्षेत्रमा बैंकिङ प्रणालीको रहेको देखिन्छ।

चालू आर्थिक वर्षमा गत आवमा भन्दा छिटो कर्जा लगानीयोग्य रकमको समस्या देखिएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालले बताए। “बैंकहरूको असोज पछिल्लो साताको निक्षेप र कर्जाको अनुपात हेर्ने हो भने पनि ८० प्रतिशतको पुँजी, कर्जा निक्षेप अनुपात भन्दा माथि गएको देखिन्छ,” उनले भने । बैंकहरूले असोजको पहिलो सातामा मात्र ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यसले पनि कर्जा लगानीयोग्य रकमको उपलब्धता सहज अवस्थामा नरहेको उनको भनाइ छ। बैंकहरूले गत आर्थिक वर्षको अन्तमा लिएको निक्षेपलाई समेत कर्जा प्रवाह गरिसकेको अवस्था रहेको बताउँदै उनले भने, “चालू आर्थिक वर्षको मौद्रिक नीतिले स्रोत व्यवस्थापनामा जोड दिएको भए पनि त्यसको प्रभाव पर्न अझै समय लाग्छ। यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
 

प्रतिक्रिया दिनुहोस