aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय आयोग गठन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ असोज २०८०
सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय आयोग गठन

काठमाडौँ । सरकारले सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय छानबिन आयोग गठन गरेको छ । आयोगको सदस्यमा किशोरजङ्ग कार्की, प्रेमराज जोशी र सहकुल थापा छन्‌ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले तीन महिनाको समय दिएर आयोग गठन गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्‌ । ‘सुनको अवैध पैठारी तस्करीको नियन्त्रण गर्न सुझावसहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग गरिएको छ’, उनले भनिन्‌ ।

आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलपछि आयोग गठनको निर्णय गरिएको थियो ।

सुन तस्करी प्रकरणका सम्बन्धमा एमालेलगायतका दलले उच्चस्तरीय छानबिन आयोगको माग गर्दै आएकोमा गत भदौ ६ गते सरकार र राजनीतिक दलबीच असोज ५ सम्म उच्चस्तरीय छानबिन आयोग गठन गर्ने र सोही दिनदेखि आयोगले काम गर्ने सहमति भएको थियो ।

प्रधानमन्त्री दाहालले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ । सो अवसरमा प्रधानमन्त्री दाहालले आयोग गठनको निर्णयबारे सदनलाई जानकारी गराउनेछन्‌ ।

यसअघि आज विहान प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल भएको थियो । उक्त छलफलपछि प्रधानमन्त्री दाहालले सत्तारुढ दलसँग पनि सो विषयमा छलफल गरेका थिए । आजको छलफलमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी बाहेकको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस