काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोन, ट्याक्सी वेलगायत विस्तारको काममा योग्य कम्पनी नछान्दा ठेक्का प्रक्रिया रोकिएको छ।
विमानस्थलको जहाज पार्किङ क्षेत्र, ट्याक्सी वे विस्तारका लागि मागिएको आर्थिक प्रस्ताव शुक्रबार खोल्ने तयारी थियो तर अन्तिम समयमा आएर स्थागित भएको छ। प्राविधिक प्रस्तावपछि आर्थिक प्रस्ताव मागिन्छ।
नेपाल नागरिक उड्ययन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलले प्रस्तावमा प्राविधिकरूपमा योग्य कम्पनी छुटेको गुनासो आएको जानकारी दिए। उनले भने, ‘अन्य आवेदक कम्पनीले लिखितरूपमै गुनासो गरेपछि हाललाई आर्थिक प्रस्ताव खोल्ने काम स्थागित गरिएको छ।’ अब यसको प्रस्ताव दसैंपछि मात्रै खोलिनेछ।
उनका अनुसार काम गर्न सक्ने अन्य कम्पनीको प्रस्ताव पुनः मूल्यांकन गर्न माग भएको छ। प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता वृद्धि आयोजनाले गत अप्रिल २ मा आठ अर्ब रुपैयाँभन्दा बढीको कामका लागि सार्वजनिक प्रस्ताव मागेको थियो।
यो प्रस्तावमा चिनियाँ कम्पनीद्वय सीएमएसीई, सीआरबीजीसँगको जेभीमा र चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनको मात्रै प्राविधिक प्रस्ताव स्वीकृत भएको थियो। यी दुवै कम्पनीको प्रस्तावलाई शुक्रबार ११ बजे छनोट प्रक्रिया तय गर्न प्राधिकरणले बोलाएको थियो। यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस