aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

‘अतिकम विकसित मुलुकको नेतृत्व गर्न पाउनु अवसर हो’ : दाहाल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ असोज २०८०
‘अतिकम विकसित मुलुकको नेतृत्व गर्न पाउनु अवसर हो’ : दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अल्पविकसित मुलुक (एलडीसी) को अध्यक्षता गर्न पाउनु नेपालका लागि महत्वपूर्ण अवसर भएको बताएका छन् । प्रतिनिधि सभा बैठकमा दाहालले नेपाल यो वर्ष एलडीसीको अध्यक्ष भएको र यो महत्वपूर्ण अवसर रहेको उल्लेख गरेका हुन् ।

१० वर्षे सशस्त्र द्वन्द्वका क्रममा दाहाल र उनको पार्टी माओवादीले देशलाई सिंगापुर र स्वीट्जरल्याण्डको हैसियतमा पुर्‍याउने बताएको थियो । दाहाल स्वयम्‌ले शान्तिप्रकृयामा आएपछि नेपाललाई पाँच वर्षभित्र दक्षिण एसियामा सबैभन्दा विकसित देश बनाइने दाबी गरेका थिए । १० वर्षसम्म चलेको द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट गरी १७ हजारभन्दा धेरै नागरिकले ज्यान गुमाएका थिए

तर, हतियार बिसाएको १८ वर्षसम्म लगभग निरन्तर सत्तामा रहेका दाहालले नेपाल अल्पविकसित मुलुकको अध्यक्ष हुनु महत्वपूर्ण अवसर रहेको बताएका हुन् ।

अतिकम ‘यसपटक राष्ट्र संघका सबै सभाहरूमा सम्बोधन गर्दा खाली नेपालको प्रधानमन्त्रीको हैसियतले मैले विषयहरूलाई स्पष्ट राख्ने प्रयत्न गरेको मात्रै होइन । यो पटक हाम्रो लागि विशिष्ठता के रह्यो भने हामी एलडीसीका चेयर (अध्यक्ष) हौं यसपटक ।’

उनले निकै जोड दिएर भने, ‘४७ वटा कम विकसित देशहरूको अध्यक्षको हैसियतले प्रत्येक सभामा सम्बोधन गर्ने विशेष अवसर पनि नेपाललाई प्राप्त भयो । त्यो अवसरको हामीले अधिकतम सदुपयोग गरेको जानकारी गराउन चाहन्छु । 

संयुक्त राष्ट्रसंघ महासभाका विभिन्न सत्रहरूमा आफूले सम्बोधन गरेको दाहालले बताएका छन् । निकै लामो र क्लिष्ट शैलीमा दाहालले भने, ‘यी सम्बोधनहरूमा मैले नेपाल लगायत अतिकम विकसित राष्ट्रहरूका तर्फबाट समेत दिगो विकास लक्ष्य प्राप्तिका समस्या, त्यसका समाधान, जलवायु परिवर्तनको प्रभाव र सो को न्यूनीकरणमा सहयोग गर्न अतिकम विकसित मुलुकहरूका लागि सहज वित्तीय पहुँच स्थापित गर्न लगायत कोभिड १९ लगायत महामारी र सो बाट गरीब मुलुकहरूका अर्थतन्त्रमा परेका समस्याहरूबारे विस्तृत र स्पष्ट दृष्ट्रिकोण राखेको थिएँ ।’

पहिलो संविधानसभा निर्वाचन, २०६४ को चुनावी घोषणापत्र सार्वजनिक गर्ने क्रममा माओवादीले १० वर्षमा प्रतिव्यक्ति आय ३०० बाट ३००० डलर पुर्‍याउने र बीस वर्षमा ८ देखि १० हजार डलर पुग्ने दाबी गरेको थियो । ४० वर्षभित्र अर्थात् वि.सं. २१०४ मा त नेपाल विश्वको एक सम्पन्नतम मुलुकमा परिणत हुन सक्ने तत्कालीन माओवादी नेता एवम् घोषणापत्र मस्यौदा समितिका संयोजक डा. बाबुराम भट्टराईले दाबी गरेका थिए ।

माओवादीले घोषणापत्र जारी गरी चुनाव जितेको १७ वर्ष पुग्दा नेपालीको औषत प्रतिव्यक्ति आय जम्माजम्मी एक हजार ३९९ अमेरिकी डलरमात्रै पुगेको छ ।

प्रतिक्रिया दिनुहोस