aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

चिनियाँ सहयोग ठूला पूर्वाधारमा लगानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ असोज २०७६
चिनियाँ सहयोग ठूला पूर्वाधारमा लगानी

काठमाडौं । यसै महिना हुन लागेको चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण राजनीतिक र कूटनीतिक हिसाबले जति महत्त्व राख्छ त्यति नै महत्त्व नेपालको आर्थिक तथा व्यापारिक हितका लागि पनि उपयोगी बनाउनुपर्नेछ ।

परापूर्व कालदेखि रहँदैआएको सम्बन्ध, दौत्य सम्बन्धलगायतका चरण पार गर्दै आएको नेपाल–चीन पारस्परिक सम्बन्धले नेपालको आर्थिक प्रगतिको आधारको स्वरूप ग्रहण गर्नुपर्ने बेला आएको सरोकारवालाको मत छ । नेपाल र चीनबीच सन् १९५५ मा दौत्य सम्बन्ध स्थापना भएसँगै आर्थिक सहयोगको शृङ्खला सुरु भएको थियो । खास गरी सन् १९५६ अक्टोबरमा सम्पन्न आर्थिक सहायतामा नेपाल चीन सहमतिपछि यसले तीव्रता पाएको देखिन्छ । चीन सरकारले नेपाललाई द्विपक्षीय हितका क्षेत्रमा आर्थिक तथा प्राविधिक सहायता कार्यक्रमअन्तर्गत सहयोग उपलब्ध गराउँदैआएको छ ।

पूर्ण अनुदान, निर्व्याजी ऋण र सहुलियतपूर्ण कर्जाका आधारमा सरकारी सहयोग उपलब्ध हुँदैआएको देखिन्छ । नेपालको पूर्वाधार क्षेत्र औद्योगिक विस्तार, मानव संशाधन विकास, औद्योगीकरणको प्रक्रिया, शिक्षा स्वास्थ्य जलस्रोतलगायतका क्षेत्रमा चिनियाँ सहयोग उल्लेख्य रहँदैआएको छ।

चिनियाँ सहयोगमा अहिले पनि माथिल्लो त्रिशूली जलविद्युत् आयोजना, काठमाडौँ चक्रपथ सुधार आयोजना, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, कोदारी राजमार्ग, स्याफ्रुबेसी रसुवागढी सडक स्तरोन्नतिलगायतका परियोजना निर्माणाधीन छन् । सन् २०१७ मा नेपाल र चीनबीच सम्पन्न बेल्ट एन्ड रोड इनिसिएटिभ अन्तर्गत पनि सहयोग आदान प्रदानको समझदारीले आर्थिक, प्राविधिक तथा वातावरणीय क्षेत्रमा योगदान पुयाउने अपेक्षा नेपाल सरकारको छ । 

ठूला पूर्वाधारमा सहायता अपेक्षित

ठूला र रणनीतिक महत्वका आयोजनामा चिनियाँ सहयोग निरन्तर सहयोगी बन्दैआएको छ तर सडक, ऊर्जा, रेलजस्ता महत्वपूर्ण पूर्वाधार विस्तारमा नेपाललाई सहायता अझै धेरै अपेक्षित रहँदैआएको छ । 

नेपाल चीन सम्बन्धलाई नजिकबाट नियालिरहेका चीनका लागि नेपालका पूर्वराजदूत टङ्क कार्की चिनियाँ राष्ट्रपतिको भ्रमणलाई नेपालको व्यापारिक तथा आर्थिक हितमा प्रयोग गर्न सक्ने सुनौलो अवसर मान्छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस