
एजेन्सी । रूस र इराकले सस्तो मूल्यमा कच्चा तेल दिएपछि भारतले सेप्टेम्बरयता ठूलो परिमाणमा तेल आयात गरेको छ । साउदी अरबको तुलनामा यी दुई देशले भारतलाई सस्तो मूल्यमा कच्चा तेल बेचेका हुन् ।
गत अगष्टमा रूसले बितेका सात महिनाको तुलनामा भारततर्फ निकै कम तेल पठाएको थियो । त्यतिखेर भारतले रूसबाट प्रतिदिन १०.५५ लाख ब्यारेल कच्चा तेल आयात गर्ने गरेको थियो ।
सेप्टेम्बरमा भने रूसबाट भारततर्फ कच्चातेल आयात १८.३ प्रतिशतले बढेर प्रतिदिन १८.३ लाख ब्यारेल पुगेको थियो । इराकबाट पनि भारतले सेप्टेम्बर महिनामा प्रतिदिन ९ लाख ब्यारेल कच्चातेल आयात गरेको छ ।
भारतले सेप्टेम्बर महिनामा आफ्नो कूल तेल आयातको ४३ प्रतिशत हिस्सा रूसबाट र २२ प्रतिशत हिस्सा इराकबाट खरिद गरेको हो । तर, अगष्टमा रूसबाट ३५.४ र इराकबाट १९.४ प्रतिशत तेल खरिद गरेको थियो ।
साउदी अरबबाट भारतले निर्यात गर्ने कच्चा तेलको मात्रा भने घटेको छ । गत अगष्टमा भारतले गरेको कूल आयातको १९ प्रतिशत तेल पठाएको साउदी अरबले सेप्टेम्बरमा १३ प्रतिशतमात्रै पठाउन सकेको छ ।
सेप्टेम्बरमा भारतले साउदी अरबबाट प्रतिदिन करिब ५ लाख ब्यारेल कच्चा तेल खरिद गरेको छ । सन् २०२२ देखि २०२३ सम्म साउदीबाट भारतले प्रतिदिन ७ लाख ५० हजार ब्यारेल तेल खरिद गरेको थियो । यो तथ्यांकले नै साउदीबाट भारतले तेल किन्न कम गरेको पुष्टि गर्छ ।
भारतीय अखबारहरूका अनुसार हाल साउदी अरब भारतलाई धेरै तेल पठाउनेको सूचीमा तेस्रो स्थानमा छ । रूस पहिलो र इराक दोस्रो स्थानमा छ ।
यसअघि सामान्यतयाः कच्चा तेल खरिद गर्ने मामिलामा इराकपछि साउदी अरबलाई भारतले प्राथमिकता दिने गरेको थियो । तर, युक्रेनसँग युद्ध शुरू भएपछि रूसले सस्तो दरमा तेल बेचिरहेको छ ।
भारतले पनि अहिले रूसबाटै ठूलो परिमाणमा तेल खरिद गरिरहेको छ । त्यसैले इराक र साउदी अरब भारतलाई तेल बेच्ने मामिलामा रूसभन्दा पछि परेका हुन् ।
तेलको सस्तो मूल्यकै कारण अहिले रूसबाट भारतमा आयात बढेको छ । इराकमा पनि कच्चा तेलको मूल्य साउदी अरबको तुलनामा प्रतिब्यारेल दुई डलरले सस्तो छ ।
युद्धरत रूसले अगष्ट महिनामा तेलको मूल्य केही वृद्धि गरेको थियो । सोहीकारण त्यो महिनामा भारतले रूसबाट कम तेल खरिद गरेको थियो । तर, मूल्य घटाएसँगै सेप्टेम्बरमा भारतले रूसबाट आफ्नो कूल आयातको ४३ प्रतिशत तेल खरिद गरेको हो ।
प्रतिक्रिया दिनुहोस