तनहुँ । तनहुँको व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिक रूपमा थालेको ड्रागन फलको खेतीबाट पहिलो वर्षमै राम्रो आम्दानी भएको छ । स्थानीय कृषक कल्पना गौलीले ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी सुरु गर्नुभएको ड्रागन खेतीबाट आठ लाख बराबरको ड्रागन बिक्री गरिसकेकी छिन् ।
विसं २०७९ वैशाखदेखि व्यवसाय थालेकी गौलीले एक वर्षको अवधिमा आठौँ पटकसम्म फल टिप्दा उक्त परिमाणको ड्रागन बिक्री गरेको बताईन् । “अझै पनि फार्मबाट करिब रु छ लाख बराबरको ड्रागन बिक्री गर्ने अपेक्षा गरेको छु”, उनले भनिन् ।
अर्को हप्ता नवौँ पटक टिप्न योग्य भएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘‘यसपटक करिब छ क्विन्टल उत्पादन हुने अपेक्षा गरेको छु ।” १२ देखि १४ पटकसम्म फल दिन सक्ने उनको आशा रहेको छ ।
उनलाई बजारको कुनै समस्या छैन । उक्त फार्ममा उत्पादन भएका ड्रागन दमौली बजारमा खपत हुने गरेको उनले बताईन् । वैशाख महिनामा फूल खेल्न सुरु भएको ६० दिनभित्र खाना योग्य हुनेछ । ‘‘कतिपय व्यवसायी फार्म आएर ड्रागन लैजानु हुन्छ’’, उनले भनिन्, ‘कुनै समयमा आफैँले गाडीको प्रयोग गरी बजारसम्म लगेर बिक्री गर्ने गरेको छु ।’’ उत्पादित ड्रागन प्रतिकिलो रु।पाँच सयदेखि रु।छ सयसम्म बिक्री हुने गरेको उनले बताईन् ।
करिब नौ रोपनी क्षेत्रफल जग्गा २० वर्षका लागि भाडामा लिएर वार्षिक २० हजार भाडा बुझाउने गरी व्यवसाय थालेको कृषक गौलीले बताईन् । बिरुवा रोपेको पाँच महिनाको अवधिमा केही बोटमा फल लागेको थियो । उनले फार्ममा ड्रागनका साथै च्याउ, मौरी, फलफूल पनि लगाएकी छिन् ।
उनले गत वर्ष भारतको हैदरावादबाट दुई हजार एक सय ड्रागनका बिरुवा ल्याएर लगाएको थियो । फार्ममा पाँच सय पोल निर्माण गरी एउटा पोलमा चारवटाका दरले ड्रागन बिरुवा लगाएको गौलीले जानकारी दिईन् । एउटा पोलमा करिब रु १० हजारका दरले खर्च भएको उनको भनाइ छ ।
त्यसैगरी कृषक गौलीले यस वर्ष रु तीन लाख बढीको ड्रागनका बिरुवा बिक्री गरेकी छिन् । प्रतिबिरुवा रु दुई सयदेखि रु पाँच सयसम्म बिरुवा बिक्री गरेको उनले बताईन् । ड्रागनका बिरुवा लिन तनहुँलगायत विभिन्न जिल्लाबाट मानिसहरु आउने गरेका छन् । उनको देखासिकीबाट जिल्लाका धेरै किसानले यसको खेती गर्न थालेका छन् ।
सोह्र वर्ष शिक्षण पेसा र करिब १५ वर्षसम्म दमौली बजारमा बुटिक व्यवसाय गरेकी गौली अहिले ड्रागन खेतीतर्फ आकर्षित भएकी छिन्। व्यास नगरपालिका–३ मालपोत लाइनमा ‘व्यास कोसेली घर’ समेत सञ्चालन गर्दै आएकी छिन् । स्थानीयस्तरमा उत्पादित अग्र्यानिक तरकारी, घरेलु सामग्री, घरेलु कपडालगायत सामग्री उक्त कोसेली घरमा बिक्री गर्ने गरेको उनले बताईन् ।
प्रतिक्रिया दिनुहोस