aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

इन्जिनियर रामबहादुरले गरे तीन करोड गैरकानूनी सम्पत्ति आर्जन, अदालतमा मुद्दा दायर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ असोज २०८०
इन्जिनियर रामबहादुरले गरे तीन करोड गैरकानूनी सम्पत्ति आर्जन, अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैर कानुनी सम्पत्ति आर्जन गरेको आरोपमा एक इन्जिनियरविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमही दाङका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध मुद्दा दायर गरेको हो । 

उनले तीन करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आयोगको आरोप छ । रानाभाटले सार्वजनिक सेवामा स्थायी नियुक्ति लिएको मिति २०४६ साल असार ३० गतेदेखि २०७९ साल कात्तिक ६ गतेसम्मको समग्र आय तथा ब्ययबारे आयोगले अनुसन्धान गरेको थियो । जसमा तीन करोड पन्ध्र लाख एकासी हजार छैसठ्ठी रूपैंया असी पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको आयोगको दाबी छ । 

उनले र उनको परिवारले अमिल्दो र अस्वाभाविक जीवनस्तर यापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकम बराबरको आफ्नो र परिवारको नाममा विभिन्न कम्पनीको  शेयर खरिद, जग्गा खरिद, अध्ययन खर्च, घर निर्माण गरेको पाइएको छ । साथै उनले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा रकम जम्मा गरेको देखिएको छ । 

उनीसंग सोहि रकम बराबरको बिगो माग गरिएको छ । यस्तै अख्तियारले विगो बमोजिम जरीवाना र कैद सजाय हुन एवं निजले जाँच अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको र आंशिक स्रोत खुलेको सम्पत्ति जफत÷असुल उपर गर्नु पर्ने भन्दै मुद्दा दायर गरेको छ ।  
 

प्रतिक्रिया दिनुहोस