aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सुपारी निकासीबारे संसदीय समितिले थप छलफल गर्ने, जिराको मूल्यमा चासो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ असोज २०८०
सुपारी निकासीबारे संसदीय समितिले थप छलफल गर्ने, जिराको मूल्यमा चासो

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपालबाट सुपारी निकासीबारे थप छलफल गर्ने भएको छ । नेपालमा उत्पादन हुनेभन्दा बढी सुपारी ल्याएर निकासी गरी सरकारले दिने गरेको निर्यात अनुदान अपचलन गर्न खोजेका व्यापारीहरूलाई संसदीय समितिले अल्झाइदिएको हो ।

संघीय संसद्‌ सचिवालय सिंहदरबारमा आज समितिको बैठक बसेको हो । बैठकमा नेपालमा उत्पादित सुपारी निकासीका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गरिएको थियो ।

छलफलमा सुपारी खेती व्यवसायको हालको समग्र अवस्थाका सम्बन्धमा सरोकारवालाहरूसँग जानकारी लिँदै यस विषयमा समितिले थप अध्ययन गरी नेपाल सरकारका सरोकारवाला मन्त्रालय र पक्षसँग समितिको अर्को बैठकमा छलफल गरी आवश्यक निर्णय गर्ने जनाएको छ ।

साथै, समितिले चाडबाड नजिकिँदै गर्दा जिरा र चिनी लगायत आवश्यक उपभोग्य सामग्रीको मूल्यवृद्धिबारे पनि चासो राखेको छ । गत भदौ ३१ गते समितिले सरकारलाई सुपथ मूल्य पसल खोल्न निर्देशन दिएको थियो । सोहीअनुसारदेशका विभिन्न स्थानहरूमा सुपथ मूल्य पसल खोलेकोमा समितिले सरकारलाई धन्यवाद दिएको छ ।

सुपथ मूल्य पसलहरू देशका दुर्गम र हिमाली जिल्लाहरू सहित विभिन्न स्थानहरूमा समेत थप गरी त्यस्ता पसलहरूबाट जनतालाई सहज रूपमा चाडपर्वका समयमा किनमेल गर्न पाउने बातावरण बनाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई समितिले निर्देश गरेको छ ।

नजिकिँदै गरेका चाडपर्वको समयमा अत्यावश्यक पर्ने मसला जन्य बस्तुहरू (जीरा, मरिच धनिया, ल्वाङ, सुकुमेल लगायत) र अन्य खाद्य पदार्थमा भएको अस्वभाविक मूल्यवृद्धि, मिसावट, कृत्रिम अभाव, कालोबजारी, गैरकानूनी भण्डारण, जस्ता अनियमित गतिविधि हुनसक्ने तर्फ ध्यान दिँदै उपभोक्तालाई सुपथ र गुणस्तरीय उपभोग्य सामानहरू सहज रूपमा उपलब्ध हुने व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई समितिले निर्देशन दिएको छ । साथै, कर्णाली प्रदेशका दुर्गम जिल्लाहरूमा नुन, चीनी, चामल, दाल लगयातका अत्यावश्यक बस्तुहरूको पर्याप्त व्यवस्था गर्न पनि निर्देश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस