aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

फिलिपिन्सले चामलको मूल्यमा लगाइएको सीमा हटायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ असोज २०८०
फिलिपिन्सले चामलको मूल्यमा लगाइएको सीमा हटायो

एजेन्सी । गरिब परिवारलाई सहयोग गर्न मुख्य खाद्यान्न चामलको मूल्यलाई सीमित गरेको केही सातापछि फिलिपिन्स बुधबार यो मूल्य सीमा हटाएको छ । 

राष्ट्रपति मार्कोसले सेप्टेम्बरको सुरुमा सामान्य चामलको खुद्रा मूल्य प्रतिकेजी ३१ पेसो (फिलिपिन्सको मुद्रा) र उच्च गुणस्तरको मूल्य प्रतिकेजी ४५ पेसो तोकेका थिए । यसले बजारलाई विकृत बनाउने र चामलको अभाव सिर्जना हुने भन्दै केही अर्थशास्त्रीहरूले राष्ट्रपतिको उक्त कदमको आलोचना गरेका थिए । 

राष्ट्रपति मार्कोसको आर्थिक समूहकी एक सदस्यले सामाजिक सञ्जालमा उक्त योजनाको खिल्ली उडाएपछि उनलाई बर्खास्त गरिएको थियो । ‘आजदेखि हामीले सामान्य चामल र उच्च गुणस्तरको चामल दुवैका लागि मूल्य सीमा हटाएका छौँ’, छापा मारेर बरामद गरिएको एक हजार बोरा चामल गरिबहरूलाई वितरण समारोहमा उनले भने । कृषिमन्त्रीसमेत रहेकाका राष्ट्रपति मार्कोसले चामलको मूल्यमा लगाइएको सीमा हटाउने यो उपयुक्त समय भएको बताए ।

एक करोड १० लाख जनसङ्ख्या भएको फिलिपिन्सको मुख्य खाद्यान्न चामल हो । तर उसले पर्याप्त चामल उत्पादन गर्न सकेको छैन । फिलिपिन्स विश्वको प्रमुख चामल आयातकर्ता पनि हो ।

गत जुलाईमा मुद्रास्फीति दर चार दशमलव सात प्रतिशत रहेकामा अगस्टमा बढेर पाँच दशमलव तीन प्रतिशत पुगेपछि मार्कोस सरकारले उपभोक्ता मूल्यमा नियन्त्रण गर्न कोसिस गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस