aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

भूकम्पमा घाइते भएकाको उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने

  • रासस
    रासस
  • बुधबार, १७ असोज २०८०
भूकम्पमा घाइते भएकाको उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पबाट प्रभावित भई घाइते भएकाको उपचार खर्च व्यहोर्ने भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको सर्वपक्षीय बैठकमा भूकम्पबाट प्रभावितको उद्धार कार्यलाई प्रभावकारी बनाउँदै प्रभावितलाई तत्काल एकद्वार प्रणालीबाट राहत सामग्री वितरण गर्ने निर्णय भएको हो ।

खोज, उद्धार, राहत वितरण कार्य आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायको समन्वयमा गर्ने निर्णय भएको मुख्यमन्त्री कमलबहादुर शाहले बताए । उनले भूकम्पमा परी घाइते भएकाको उपचारमा कुनै कमीकमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै घाइतेको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने जानकारी दिए ।

बैठकमा प्रदेश सरकारका मन्त्री, प्रदेशसभाका सभामुख, प्रदेशका प्रमुख सचिव, सचिव, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति थियो । मङ्गलबार बझाङमा गएको भूकम्पमा परी जयपृथ्वी नगरपालिकाकी गुनमती धामीको मृत्यु भएको छ । भूकम्पसँगै पहिरो जाँदा बेपत्ता हुनु भएकी उनी मृत फेला परेकी थिइन्‌ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, सञ्चार शाखाका अनुसार भूकम्पका कारण बझाङ, अछाम, बैतडी र बाजुरामा गरी २७ जना घाइते भएका छन् । भूकम्पको झड्काका कारण करिब ३२ सरकारी, ३०० सङ्ख्यामा विद्यालय भवन तथा व्यक्तिगत घरमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस