aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

काठमाडौंबाट साउदी उडेको नेपाल एयरलाइन्सको जहाज फर्कियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ असोज २०८०
काठमाडौंबाट साउदी उडेको नेपाल एयरलाइन्सको जहाज फर्कियो

काठमाडौं । काठमाडौंबाट साउदी अरबको दमाम उडेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज बीचबाटै काठमाडौं फर्किएको छ । गए राति १२ बजेर १४ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमाम उडेको नेपाल एयरलाइन्सको आर ए ४१२ जहाज आज बिहान ४ बजेर ५१ मिनेटमा पुनः काठमाडौं अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ । 

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार काठमाडौं–दमाम उडानको उक्त जहाजको ‘टिकास उपकरण’मा समस्या देखिएकाले पुनः काठमाडौं फर्काइएको हो । पाकिस्तानको आकाशमा पुगेपछि प्राविधिक समस्या देखिएपछि विमान चालकले जहाज काठमाडौं फर्काएका थिए ।
     
जहाज उडानको क्रममा अन्य जहाज नजिक आएमा सङ्केत गर्ने उपकरणलाई टिकास भनिन्छ । “टिकास जहाजमा जडित प्रणाली हो, यसले उडिरहेको जहाजलाई जोखिम हुन सक्ने तथा अर्को जहाजसँग ठोक्किनबाट जोगाउन पाइलटलाई निर्देशित गर्दछ”, महाप्रबन्धक तिवारीले भने । 

उक्त जहाजका यात्रुलाई अर्को जहाजको व्यवस्था गरेर गन्तव्यमा पठाइने विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस