काठमाडौं । विश्व व्यापार संगठन (डब्लुटिओ)ले विश्वव्यापी आर्थिक मन्दीको चेतावनी दिएको छ । जेनेभामा हालै सम्मेलन सम्पन्न भएको दोस्रो दिन बिहिबार डब्लुटिओले विश्वभरका केन्द्रीय बैंकहरुले विस्तार गरेका उच्च ब्याजदरका कारण यस्तो अवस्था आउन सक्ने जनाएको हो ।
विश्वव्यापी मूल्यवृद्धि २ प्रतिशतको हाराहारीमा राख्न सबै राष्ट्रका केन्द्रीय बैंकहरुले यस बेला ब्याजदर उच्च बनाएका छन् । जसले गर्दा सन् २०२३ का लागि पूर्व अपेक्षित दरमा आर्थिक वृद्धि समेत नहुने डब्लुटिओ सम्बद्ध अर्थशास्त्रीहरूले प्रकाशित गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।
सन् २०२२ को चौथो त्रैमासमा अमेरिकी, युरोपेली र प्रमुख अर्थतन्त्र भएका मुलुककारुपमा चिनिने देशहरूका केन्द्रीय बैंकले मौद्रिक नीतिमा कडाइ गरेपछि आर्थिक गतिविधिमा विश्वव्यापी सुस्तता छाएको अर्थशास्त्रीहरूको भनाई छ । उनीहरूले विश्वभर आपूर्ति श्रृखलामा देखिएको समस्यालाई पनि अर्थतन्त्र सुस्ताउनको अर्को प्रमुख कारणकारुपमा औँल्याएका छन् ।
त्यसबाहेक चीनमा घरजग्गा व्यापारमा देखिएको मन्दी र युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय व्यापारमा सिर्जना भएको दबाबलाई पनि अर्थतन्त्र सुस्तताको प्रमुख कारण मानिएको छ । ‘व्यापारमा मन्दीका धेरै कारणहरू छन् । जसमा धेरै वस्तु र राष्ट्रहरूको सहभागिता छ’, अर्थशास्त्रीहरूले अगाडी लेखेका छन्, ‘अर्को वर्ष व्यापारमा विस्तार हुने देखिन्छ । तर, त्यो निकै सुस्त र स्थिर जिडिपी वृद्धिकोरुपमा हुनेछ ।’
डब्लुटिओले सन् २०२३ को अन्त्यसम्ममा वस्तु व्यापारको आकार ०.८ प्रतिशतले वृद्धि हुने अपेक्षा गरेको छ । गएको अप्रिल महिनामा यस्तो वृद्धि १.७ प्रतिशत हुने प्रक्षेपण गरिएको थियो । यस्तो वृद्धि भनेको १६ वर्षअघि सन् २००८ मा देखा परेको विश्वव्यापी आर्थिक मन्दी भएयताको सर्वाधिक कम २.६ प्रतिशत भन्दा पनि तल हो ।
डब्लुटिओका महाप्रबन्धक नोजी ओकोन्जो इओलाले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ, ‘विश्वव्यापी धेरै मानिसहरूको जीवनस्तरमा नकारात्मक असर पार्नेगरि सन् २०२३ मा देखिएको व्यापार मन्दी प्रति हाम्रो ध्यानाकर्षण भएको छ । विश्व अर्थतन्त्रमा देखिएका जटिलताहरूले त्यसलाई अझ खराब बनाएका छन् । त्यसैले डब्लुटिओका सदस्य राष्ट्रहरूले आफूहरूले लिँदै आइरहेको संरक्षणवादी नीतिलाई हटाउँदै विश्व व्यापारलाई थप बलियो बनाउने र समावेशी अर्थतन्त्र विकास गर्ने अवसरलाई समात्ने प्रयत्न गर्नुपर्छ । विश्वका गरिब मुलुकहरूले यस्तो बेला जटिल समस्याको सामना गर्नु पर्ने हुनसक्छ ।’
विश्व व्यापार संगठनले आर्थिक मन्दीको स्पष्ट कारण नखुलाएको तर उच्च ब्याजदर, अमेरिकी डलरको मूल्यमा भएको वृद्धि र भूराजनीति तनावहरूले यस्तो स्थिति सिर्जना गर्ने उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस