aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

प्रधानमन्त्री प्रचण्ड र प्रम पुत्री गंगालाई घडी र ब्याग बेच्न सुनिल शर्माको आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ असोज २०८०
प्रधानमन्त्री प्रचण्ड र प्रम पुत्री गंगालाई घडी र ब्याग बेच्न सुनिल शर्माको आग्रह

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई घडी बेचेर दुर्गमका विद्यालयको लागि खर्च गर्न आग्रह गरेका छन् । शुक्रबार शिक्षा विधेयकबारेको छलफलमा बोल्दै उनले प्रधानमन्त्रीलाई महँगो घडी र उनको छोरीलाई महँगो ब्याग लिलामीमा राख्न सार्वजनिक रुपमा आव्हान गरेका हुन् ।

चर्चित वामपन्थी नेता तथा साहित्यकार मोदनाथ पौडेल ‘प्रश्रित’ को मदन पुरस्कार विजेता कृति मानव महाकाव्यको उद्धरणबाट आफ्नो भनाई सुरु गरेका शर्माले प्रचण्डलाई उनी भीमोदय माध्यमिक विद्यालयको शिक्षक रहेको बेला स्मरण गराएका थिए । उनले भने, “भर्खर हजारौँको संख्यामा शिक्षक साथीहरू काठमाडौँको सडकमा आएर आन्दोलन गर्नु भो । यो मुलुकमा पुर्व शिक्षक नै प्रधानमन्त्री रहेको बेला आफ्नै साथीहरू आन्दोलनमा उत्रिन बाध्य बन्नु विडम्बना होइन ?”

शिक्षकले गाँस, बास र कपासको लागि खागीको झोला भिरेर र हात्ती छाप चप्पल लगाएर आन्दोलनमा उत्रनु पर्ने अवस्था आएकोमा उनले खेद प्रकट गरेका छन् । उनले यस्तोमा पनि ६५ लाख देखी २ करोड रुपैंयासम्मको घडी लगाएर प्रचण्ड हिँड्नुमा नै समस्या रहेको औँल्याएका छन् ।

शर्माले प्रश्न गरे, “हाम्रो समस्या कहाँ हो ?” त्यसको जवाफ आफैँ दिँदै थपे, “दुई चार जना माथि बस्ने नेताहरूको सोचमा जबसम्म परिवर्तन हुँदैन तबसम्म हामीले जतिसुकै राम्रा कानुन बनाए पनि निकम्मा भएर जान्छन् ।”

उनले आग्रह गरे, “ प्रचण्डले लाउने दुई करोड रुपैंयाको घडी र उनीको छोरीले बोक्ने गुछी ब्याग लिलामीमा राखेर त्यो बिक्री गर्दा आएको रकमले नेपालको दूर दराजका स्कुलका प्वाल परेका टिनका छाना फेर्नुपर्छ ।” उनले विद्यालय जाने बच्चाहरूले एकसरो लुगा लाउन  नपाएको गुनासो गरे ।

उनले नेतृत्वको नियत सफा रहनुपर्नेमा जोड दिए । जनयुद्ध लडेर आएका प्रचण्डले उदारतापूर्वक छाती ठूलो पारेर आफ्नो र आफ्ना परिवारका सदस्यको नाममा रहेको बिक्री गरेर त्यसबाट प्राप्त रकमले दुर्गमका विद्यालय निर्माण गर्नुपर्ने उनले जिकिर गरे ।     

प्रतिक्रिया दिनुहोस