aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

दशैको मुखमा वीर अस्पतालमा कार्यरत २२० स्वास्थ्यकर्मीको बिचल्ली !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ असोज २०८०
दशैको मुखमा वीर अस्पतालमा कार्यरत २२० स्वास्थ्यकर्मीको बिचल्ली !

काठमाडौँ । नेपाल कै जेठो स्वास्थ्य संस्थाको रुपमा परिचित वीर अस्पतालले आसन्न चाड दशैको केही साता अघि मात्र २२० जना कर्मचारीलाई सेवाबाट बिदा गर्ने निर्णय गरेको छ । अस्पतालले हालै गरेको निर्णयबाट असर पर्नेमा डाक्टर, नर्स, रेडियोग्राफर, ल्याब टेक्निसियन लगायतका जनशक्ति रहेका छन् । उनीहरूलाई चलानी नम्बर ३६६ को पत्र मार्फत शुक्रबार अब करार थप नगर्ने जानकारी दिइएको हो ।

पत्रमा असोज २१ गतेदेखि लागु हुने गरी निजहरूको सेवा करार नवीकरण नगरिने जानकारी दिइएको हो । वीर अस्पतालको आकस्मिक कक्ष र शल्यक्रिया कक्षमा हाल कार्यरत रहेका करार समाप्तिमा पर्नेहरूलाई दिने रकम सरकारले उपलब्ध नगराएको भन्दै करार सेवा नवीकरण नगरिएको वीर अस्पताल प्रशासनले जनाएको छ ।

हाल करार थप नहुने जानकारी गराइएका स्वास्थ्यकर्मीहरू कोभिड-१९ महामारीको बिला सरकारले वीर अस्पताललाई युनिफाइड केन्द्रीय अस्पतालका रुपमा तोकेपछि सोही प्रयोजनको लागि करार सम्झौता मार्फत कार्यरत थिए । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले समेत कोरोना महामारी अन्त्य भएको घोषणा गरिसकेको हुनाले अब सो अस्पताल युनिफाइड केन्द्रीय अस्पताल कायम नरहेको अस्पताल प्रशासनले दलिल गरेको छ ।

निजहरूले पाउने पारिश्रमिक रकम गएको असार मसान्त पश्चात् सरकारबाट प्राप्त नभएकोले उनीहरूलाई बिदा गर्न बाध्य हुनुपरेको अस्पतालको निर्णयमा उल्लेख छ । सरकारले चालु आर्थिक वर्षमा उनीहरूको लागि बजेट विनियोजन नगरेको र आन्तरिक स्रोतबाट समेत त्यसको ब्यवास्थ्पन गर्न नसकिने भएकोले निजहरूलाई धन्यवाद सहित बिदा गर्ने निर्णय गरिएको अस्पतालका रजिस्ट्रार सहायक प्रा. डा. ज्ञानेन्द्र शाहद्वारा हस्ताक्षर गरिएको पत्रमा उल्लेख छ ।  

प्रतिक्रिया दिनुहोस