
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले दक्षिणी इजरायलमा भएको प्यालेस्टाइनी आक्रमण भयानक रहेको र सो आक्रमणमा केही नेपालीहरू हताहत भएको हुनसक्ने जानकारी संसद्लाई गराएका छन् । संसद्मा विशेष समय लिएर परराष्ट्रमन्त्रीले इजरायलमा रहेका नेपालीहरूको उद्दार निम्ति आफ्नो संयोजकत्वमा समिति गठन भएको पनि बताए ।
प्यालेस्टाइनको हमास समूहले गाजापट्टीबाट शनिबार बिहान इजरायलको दक्षिणी भागतर्फ दुई हजारभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको थियो । सो आक्रमण इजरायल पुगेका नेपालीहरू बढी रहेको क्षेत्र हर्जलिया र अनुमिममा सघन रहेको बुझिएको छ ।
मन्त्री साउदले नेपाली राजदूतावास, इजरायली सरकारको स्रोत एवम् अन्तरराष्ट्रिय समाचार माध्यमबाट प्राप्त जानकारीअनुसार इजरायलको दक्षिणी क्षेत्रमा प्यालेस्टाइनको हमास समूहबाट आक्रमण भएको र हालसम्म आक्रमणबाट सयौंको संख्यामा घाइते र मृत्यु भएको तथा केही मानिसहरूले हमास समूहले अपहरण तथा बन्धक बनाएको बुझिन आएको बताए ।
मध्यपूर्व तनावमा प्रचण्डको अराजकता : लाखौं नेपाली श्रमिक जोखिममा
‘सो क्षेत्रमा हवाई जल र स्थल मार्गबाट प्यालेस्टाइनमा अवस्थित हमास समूहका लडाकुहरू इजरायलको दक्षिणी क्षेत्रमा प्रवेश गरी आकस्मिक तवरले आक्रमण गर्ने एवम् बन्धक बनाउने लगायत गतिविधिहरू भएको बुझिएको छ,’ विभागीय मन्त्री साउदले भने, ‘इजरायलमा भएको सो आक्रमण दशकौं पछिको ठूलो स्केलको रहेको जानकारी हुन आएको छ । इजरायलको तर्फबाट हिजो राति गाजा क्षेत्रमा जवाफी कारबाही हुँदा त्यहाँ पनि केही संख्यामा मृत्यु भएको समाचार आएको छ ।’
मन्त्री साउदका अनुसार इजरायलमा हाल चार हजार पाँच सय नेपालीहरु केयरगिभरका रूपमा कार्यरत रहेका छन् । त्यहाँ हाल अध्ययन गरिरहेका २६५ जना नेपाली विद्यार्थीहरू इजरायल सरकारको लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत गएका थिए । त्यसमध्ये नेपालको कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए ।
यी मध्ये सुदूरपश्चिम विश्वविद्यालयबाट गएका १७ जना नेपालीहरू दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा अध्ययनरत थिए । नेपाली राजदूतावासबाट प्राप्त अपडेटअनुसार यो स्थान गाजा क्षेत्रबाट नजिक रहेको र त्यहाँ हमास समूहबाट गम्भीर आक्रमण भएकाले उक्त स्थानमा अध्ययनका लागि रहेका १७ जना नेपालीमध्ये २ जना सकुशल रहेको, तीन जना घाइतेको उपचार स्थानीय अस्पतालमा भैरहेको छ। बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने हुँदा स्थिति एकीन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ ।
साउदका अनुसार इजरायलमा भएको यस दुःखद घटनालाई नेपाल सरकारले गम्भीरताका साथ लिएको छ । आजै बिहान प्रधानमन्त्रीको अध्यक्षतामा बैठक बसी परराष्ट्रमन्त्रीको संयोजकत्वमा सबै सरोकारवाला निकाय सम्मिलित एक समन्वय समिति स्थापित गरिएको छ । सो संयन्त्रले घटनाको निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्यांकन गरेर नेपालीहरूको अवस्था पहिचान गर्ने, उद्दार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने तथा सम्पूर्ण कार्यहरू गर्ने उनले दाबी गरे ।
दक्षिणी इजरायलमा भएको यस भयानक आक्रमणका बारे जानकारी आएलगत्तै त्यस क्षेत्रमा रहेका नेपालीहरूको अवस्था बुझ्न एवम् उनीहरूको सुरक्षाको प्रत्याभूति गर्न परराष्ट्र मन्त्रालयले आफ्नो संयन्त्र एवम् सम्पर्क परिचालन गरेको पनि मन्त्री साउदले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस