aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 
सम्पादकीय

जोखिममा नागरिक, निकम्मा प्रचण्ड सरकार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ असोज २०८०
जोखिममा नागरिक, निकम्मा प्रचण्ड सरकार

काठमाडौं । युद्धग्रस्त इजरायलमा फसिरहेका आफ्ना नागरिक उद्दार गर्न छाडेर सरकारले निकम्मापन देखाएको छ । दर्जनौं मुलुकले विशेष अभियान नै चलाएर इजरायलबाट आफ्ना नागरिकलाई सुरक्षित गन्तव्यमा पुर्‍याइरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले गैह्रजिम्मेवारीको पराकाष्ठा नाघेका हुन्‌ ।

प्यालेस्टाइनी सशस्त्र समूह हमासले गाजापट्टीबाट इजरायलका दक्षिणी भूभागमा भीषण, तर आश्चर्यजनक ढंगले आक्रमण गरेको आज तेस्रो दिन भइसकेको छ । सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल पुगेका ४९ मध्ये १० जनाको मृत्यु भइसकेको छ । एक जना बेपत्ता र कम्तिमा ५ जना विद्यार्थीहरू गम्भीर घाइते छन्‌ ।

इजरायलमाथि आक्रमण हुनासाथ प्रधानमन्त्री दाहालले आफ्ना सामाजिक सञ्‍जाल र परराष्ट्र मन्त्रालयमार्फत प्यालेस्टाइनी हमासलाई आतंकवादी करार गर्न जति हतारो गरेका थिए, आफ्ना नागरिक उद्दारमा उनले त्यति नै लाचारी देखाइरहेका छन्‌ । हमासलाई समर्थन गर्ने आधा दर्जनबढी मुस्लिम राष्ट्रहरूमा आफ्ना नागरिकले रोजगारी गरिरहँदा दाहालले त्यसको पर्वाह नगरी हतारमा हमासको आक्रमणलाई आतंककारी आक्रमणको संज्ञा दिएका थिए । जब कि, अमेरिका बाहेक इजरायलसँग सामरिक सम्बन्ध भएकै मुलुकहरूले यस्तो अभिव्यक्ति दिएका छैनन्‌ ।

यतिखेर हजारौं नेपालीहरू इजरायली बंकरभित्र नेपाल सरकारको उद्दार टोलीलाई पर्खिरहेका छन्‌ । यसका लागि उनीहरूले राजदूतावास, गैरआवासीय नेपालीदेखि नेपाल सरकारसँग हारगुहार लगाइरहेका छन्‌ ।

तर, नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल उद्दार मिसन खटाउनुको साटो बंकरमा थुनिएका नेपालीसँग, त्यो पनि लडाईं छेडिएको तेस्रो दिनमा बल्लतल्ल भिडियो कल गरेका छन्‌ । उनले इजरायलले अनुमति दिनासाथ उद्दार हुने बताएका छन्‌ । मृत्युको मुखबाट उद्दार चाहिरहेका बंकरभित्रका नागरिकलाई प्रधानमन्त्री दाहालले नआत्तिन र सुरक्षित भएर बस्न अर्ति दिएका छन्‌ । 

आफ्ना नागरिकको सुरक्षा मामिलामा सरकार हदैसम्म गैरजिम्मेवार छ भन्ने पुष्टि प्रधानमन्त्री दाहालको पछिल्लो गतिविधिले पुष्टि गरेको छ । कयौं मुलुकले यो दुई दिनभित्र आफ्ना नागरिकलाई कि देश फर्काइसकेका छन्‌, या त सुरक्षित स्थानमा सारिसकेका छन्‌ ।

यदी सक्षम हुन्थे भने यतिखेर नेपालका प्रधानमन्त्री दाहालले उद्दार गरिएका आफ्ना नागरिकलाई त्रिभुवन या अन्य दुई अन्तरराष्ट्रिय विमानस्थलमा सान्त्वना दिइरहेका हुन्थे । तर, एउटा मामुली भिडियोकल गरेका दाहालले त्यही कर्मलाई ‘महान पहलकदमी’का रूपमा प्रचार गर्न सरकारी र दलीय संयन्त्रलाई परिचालन गरिरहेका छन्‌ । कुनै मुलुकको कार्यकारी प्रमुखको हैसियतमा रहेको नेताको यो कदम हदैसम्मको निकम्मापन हो ।

सबैभन्दा तल्लो स्तरको निकम्मापन त इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले देखाएकी छिन्‌ । नेपाली कांग्रेसको कोटाबाट राजदूत बनेकी रिजालले यो तीन दिनमा आफ्नो पद फगत आफ्नै सुविधाका लागि मात्रै हो भन्ने खराब नजिर स्थापित गर्न कुनै कसर बाँकी राखेकी छैनन्‌ । बंकरभित्रबाट नेपाली नागरिकहरूले सम्पर्क गरिरहँदा दूतावासले लोकेसन माग्ने, तर लोकेशन दिए पनि उद्दार गर्न कदम नै नचाल्ने बेइमानी रिजाल नेतृत्वको दूतावासले गरिरहेको छ । हमासको आक्रमणले भन्दा आफ्नै देशको दूतावासले गरेको यो बेवास्ताले बंकरभित्रका नेपालीहरूको मुटु छेडेको छ ।

सामाजिक सञ्चालहरूमा बंकरभित्र रहेका नेपालीहरूको रोदन र चित्कार सुनिसाध्य छैन । तर, प्रधानमन्त्री दाहाल नेतृत्वको सरकार र तेल अभिभमा रहेको नेपाली दूतावासका अधिकारीहरूलाई त्यो चित्कारले कुनै अर्थ राखेको देखिँदैन । युद्धभूमिबाटै कयाैं देशले आफ्ना नागरिक उद्दार गरिरहँदा परराष्ट्रमन्त्री एनपी साउद आइतबार संसद्‌मा लिखित ब्यहोरा पढ्दै थिए । प्रधानमन्त्रीले आज (सोमबार) भिडियो कलको चटक गरेका छन्‌ । तेल अभिभमा राजदूत कान्ता रिजालको दिन युद्धग्रस्त क्षेत्रका नेपालीहरूलाई फोस्रो आश्वासन दिँदै र ढाँट्दैमा बितिरहेको सजिलै बुझ्न सकिन्छ ।

बंकरभित्रका नागरिकहरूले अरू देशले उद्दार गरिसकेको र अब बंकरमा नेपालीमात्रै बाँकी रहेको बताएका छन्‌ । तर सरकार र राजदूतावासले भनिरहेको छ : इजरायली सेनाले उद्दार गर्न दिएको छैन । उसो भए अन्य देशले आफ्ना हजारौं नागरिकको उद्दार कसरी गरे त ? दक्षिण एसियाबाट सबैभन्दा पहिले कूटनीतिक सम्बन्ध स्थापित गरेको नेपाललाई नै इजरायलले किन आफ्ना नागरिक उद्दार गर्न दिएन ? नदिएकै हो कि दाहाल नेतृत्वको सत्ता र संयन्त्रले आफ्नो अक्षमता छोप्न लोकलाई ढाँटिरहेको छ ?

अहिलेलाई एउटै प्रश्न : अन्य देशले आफ्ना नागरिक उद्दार गरेर लगिसक्दा नेपाली नागरिक किन युद्दग्रस्त क्षेत्रको बंकरमै छन्‌ ? प्रधानमन्त्री दाहालको काम सुरक्षित सिंहदरबारमा बसेर इजरायली बंकरभित्रका नागरिकसँग भिडियो कलको चटक गर्नुमात्रै हो ?

सरकारसँग अहिलेलाई एउटै अपेक्षा : बंकरभित्र भोकोपेट र अनिँदो रहँदै जीवनको भीख मागिरहेका आफ्ना नागरिकलाई तत्काल उद्दार गरोस्‌ ।

प्रतिक्रिया दिनुहोस