काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र पारेको छ । चाडपर्व नजिकिएसँगै विभागले असोज १ गतेदेखि तीव्र रूपमा दैनिक जसो बजार अनुगमन गर्ने गरेको हो ।
विभागले नेपालभर अनुगमन गरेको असोज १ गतेदेखि २२ गतेसम्मको विवरण अनुसार यस अवधिमा ५९७ स्थानमा अनुगमन गरिएको छ । जसमा १५९ लाई कारबाही गरिएको छ ।
बजार अनुगमनका क्रममा १६३ लाई कागजात माग गरिएको छ भने सामान्य अवस्थामा ११ वटालाई सम्झाइएको छ । यस अवधिमा १४५ वटा टोली अनुगमनमा खटिएका थिए ।
विभागले अनुगमन गर्दा एक करोड २ हजार ८२३ रुपैयाँ बराबरको वस्तु नष्ट गरिएको जानकारी दिएको छ । जसमा वस्तु नष्ट गरिएको फर्मको सङ्ख्या २० रहेको छ । केही फर्मलाई ४९ लाख ३२ हजार रुपैयाँ जरिवाना समेत तिराइएको छ ।
कारबाही पर्नेहरूमध्ये सबैभन्दा बढी खाद्य वस्तु विक्री वितरण गर्नेहरू रहेका छन् । जसको सङ्ख्या ६३ रहेको त भने जरिवाना रकम १९ लाख ५० हजार रुपैयाँ रहेको छ । साथै १६ वटा किराना पसलहरूलाई ६ लाख ५५ हजार, १० वटा तरकारी तथा फलफूल पसलहरूलाई एक लाख ६० हजार, ८ वटा मासु पसलहरूलाई ७५ हजार र अन्यलाई ७ लाख २० हजार रुपैयाँ जरिवाना तिराइएको विभागले जनाएको छ ।
यस अवधिमा ७ वटा रेडिमेट तथा थान कपडा कारबाहीमा परेको छ । जसलाई एक लाख ७ हजार जरिवाना तिराइएको छ भने ५ वटा हार्डवेयर पसललाई ९० हजार रुपैयाँ जरिवाना तिराइएको छ । यस्तै, ५ वटा जुत्ता पसललाई ४५ हजार, द्ध वटा मार्टलाई ५५ हजार, ४ वटा मिठाइ पसललाई ३५ हजार र ४ वटा भाँडाकुडा पसललाई ३५ हजार रुपैयाँ जरिवाना तिराइएको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस