
काठमाडौं । प्यालेस्टाइनी सशस्त्र लडाकु समूह हमासको आक्रमणमा १० नेपाली विद्यार्थीले ज्यान गुमाएपछि सरकारले भोलि (मंगलबार) राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार बेलुकी मन्त्रीपरिषद्को आकस्मिक बैठक राख्दै सरकारले राष्ट्रिय शोक घोषणा गरेको हो ।
आक्रमणमा ज्यान गुमाएका नेपालीका परिवारलाई १० लाख रुपैयाँका दरले राहत दिने निर्णय पनि मन्त्रीपरिषद् बैठकले गरेको छ । सरकारी प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले मन्त्रीपरिषद् बैठकका निर्णयबारे जानकारी दिएकी हुन् ।
शर्माका अनुसार सरकारले इजरायलका द्वन्द्वग्रस्त क्षेत्रमा रहेका र नेपाल फर्कन चाहेका नेपालीलाई यथाशीघ्र स्वदेश फर्काउनेगरी काम अघि बढाउने निर्णय पनि गरेको छ ।
शनिबार बिहान प्यालेस्टाइनी हमासले इजरायलको दक्षिणी क्षेत्रमा अपर्झट आक्रमण गर्दा नेपालबाट कृषि अध्ययन गर्न गएका १० नेपालीको मृत्यु भएको छ । एक नेपाली बेपत्ता छन् । आधादर्जन गम्भीर घाइते छन् ।
अन्य देशले आफ्ना नागरिकलाई सुरक्षित स्थानमा सारे पनि नेपाल सरकारले भने आक्रमण भएको तीन दिनसम्म इजरायलमा रहेका नागरिकलाई बंकरभित्रै बस्न भनेको छ । सोमबार बेलुकीमात्रै इजरायली सेनाले गाजापट्टीतर्फ रहेको एउटा बंकरबाट केही नेपालीलाई उद्दार गरेको खबर प्राप्त भएको छ ।
प्रतिक्रिया दिनुहोस