काठमाडौं । अर्थतन्त्रको कुरा गर्दा मन्दी एक विनाशकारी अवस्था होः जसको खास कारण प्रष्ट रूपमा भने धेरैजसो अवस्थामा ठम्याउन गाह्रो हुन्छ। धेरैजसो अवस्थामा यो कुनै मुलुकले अर्कै उद्देश्यका लागि भ्रमपूर्ण अवस्था सिर्जना गर्न अर्थतन्त्र फुलाएपछि जब त्यो वास्तविक आकारमा आउँछः त्यो बेला देखा पर्नेगर्छ ।
मुद्रास्फीति यस्तो समस्या होः जो समस्या हो, जसको प्रभाव सूक्ष्म ढंगले निकै परसम्म पुगिसकेको हुन्छ । तर त्यो बेला मात्र थाहा पाइन्छः जब कुनै मुलुकको जनसङ्ख्यामा अचानक सामाजिक संकटको छाल आउँछ। यस्तो अवस्थामा मानिसहरू आफ्नो भविष्यप्रति निराशा प्रकट गरिरहेका हुन्छन् जुन अहिले हामी नेपालमा देखिरहेका छौं ।
यो त्यो अनिश्चितताको अवस्था हो जसमा काम गर्न सक्ने उमेर समुह आफ्नो भूगोल छोडेर अवसर र सम्भावनाको खोजीमा कुनै विदेशी भूमिमा जान मरिहत्ते गरेर लागि परेको हुन्छ । यदि हामीले नेपालमा अहिले यस्तो कुनै सर्वेक्षण गर्यौँ भने निर्विवाद यहाँको काम गर्न सक्ने उमेर समुहको दुई तिहाइ भन्दा बढी जनसङ्ख्या अवसर पाए जुनसुकै बेला यो भूमि छोड्न तयार रहेको पाउँछौ ।
हो, यस्ता नकारात्मक भाव र चाहना सामान्यतया मुद्रास्फीतिको दबाब रहेको बेला पाइन्छ । मुद्रास्फीति विशेष गरी विनाशकारी हुन सक्छ किनभने यसले प्रत्येक नागरिकको जीवनमा लुकेको करको भारलाई प्रतिनिधित्व गर्दछ।
त्यति मात्र होइन, यसको खराब पक्ष अर्को पनि छ । यसको उपचार प्रायः रोग भन्दा पनि खराब हुन्छ। केन्द्रीय बैंकहरूले ब्याज दर वृद्धिको लागि नीतिहरू बनाउँदा धेरै मानिसहरूले अपेक्षा गरेभन्दा त्यस्तो वृद्धि लामो समयसम्म जारी रहन्छ। अहिले नेपालमा त्यही भइरहेको छ । अन्ततः महँगो ब्याजदरले अर्थव्यवस्थाको सबै अवयवहरूमा समस्या सिर्जना गर्छ ।
स्वाभाविक रूपमा कामदारको ज्याला स्थिर हुन्छ । तर, त्यसले गर्दा उपभोक्ताको माग घट्दै जाँदा र कम्पनीहरूले महँगो ब्याजदरमा ऋण लिन असम्भव हुँदा व्यवसायहरू टाट पल्टिँदै जान्छन्। उता श्रमिकहरूको ज्यालामा वृद्धि नहुने तर महँगी बढ्ने हुँदा श्रम हडतालको अवस्था सिर्जना हुन्छ।
श्रम हडताल
श्रम हडताल मुद्रास्फीतिको वातावरणमा हुने गर्दछ किनभने सुरुमा श्रमको माग उच्च हुन्छ जसले व्यापारी (मालिक) हरूलाई एक प्रकारको समस्यामा पार्छ । जब मानिसहरूलाई थाहा हुन्छ कि बजारमा श्रमको माग उच्च छ तिनीहरू भोलि सजिलै अर्को काममा हाम फाल्न सक्छन्। अनि जहाँ काम गरिरहेकोका छन् त्यहाँ थप मागहरू राख्न थाल्छन् ।
अमेरिकामा सन् १९७० को दशक यस्तै हडतालको दशक थियो । जर्मनी र युगोस्लाभियामा लगायत राष्ट्रहरूमा हडतालहरू एक साझा संकट थियो। यस्ता हडतालले राम्रो ज्यालाको सुनिश्चित गर्दा जब उत्पादन घट्दै जान्छ त्यो बेला लागत उपभोक्तामा हस्तान्तरण हुनाले अझ बढी मूल्यवृद्धि निम्त्याउँछ।
अहिले विभिन्न समूहहरू श्रमिकलाई आफ्ना मालिक बिरुद्ध भड्काउने प्रयत्नमा छन् । भलै त्यहाँ एक ठाउँको काम छोड्दैमा अर्को ठाउँमा पाइने अवस्था कहिल्यै बनेन तैपनि श्रमिकले हडताल गरेका कारण गार्मेन्ट, गलैँचा लगायतका उद्योगहरू धराशायी बनेको तितो इतिहास हाम्रो सामु छ ।
सरकार बिरुद्ध विद्रोह
जब अत्यधिक मूल्यवृद्धि हुन्छ तब सरकारले थाम्न वा झुट बोलेर मानिसहरूलाई अलमल्याउन सक्दैन । उनीहरूले सहरका खुद्रा पसलहरूमा समेत आक्रमण गर्न थाल्छन् । त्यहाँ एक प्रकारको लुटपाटको अवस्था आउँछ । हामीले हालैका वर्षहरूमा अमेरिकामा त्यस्ता लुटपाटका धेरै घटना देखेका छौँ । श्रीलंकामा आर्थिक मन्दी एउटा चरम अवस्थामा पुग्दा त्यहाँ भएको विद्रोहबाट त्रसित भएर तत्कालीन शासकहरू भागेको देखेका छौँ ।
यस्तो अवस्था त्यो बेला आउँछ जब मानिसहरूलाई लाग्न थाल्छ कि सरकारले उनीहरूलाई केही दिएको छैन तर निर्मम भएर करका नाममा उनीहरूको बैंक खाताको बचत मात्र लुटिरहेको छ । अहिले नेपालमा राज्यले गरे झैँ कुनै कुराको जिम्मा नलिने, न्यूनतम सेवा समेत प्रवाह नगर्ने तर कर भने कसेर लिने गर्दा मानिसहरू कर नतिर्ने र विद्रोह गर्ने मानसिकतामा पुगिसकेका छन् । केही स्वघोषित सामाजिक अभियन्ताहरूले आमा नागरिकलाई त्यस्ता लुटपाट र अराजक बिद्रोहकालागी उक्साइरहेका छन् ।
जसले विद्रोहबाट समेत यो मुलुक सुधार्न सकिँदैन भन्ने ठानेका छन् उनीहरू जतिसक्दो चाँडो यो देश सधैँको लागि छोडेर जाने प्रयत्न र तयारीमा छन् । यो अवस्था भनेको पुरापुर विद्रोहको अवस्था हुन्छ । अहिले नेपाल त्यसको सँघारमा उभिएको देखिन्छ । कुन बेला कस्तो स्वरूपमा यहाँ विद्रोहको झिल्को आगोको लप्कोमा परिणत हुने हो त्यो किटान गर्न सकिँदैन । तर, जसरी हामी आर्थिक मन्दी, चर्को महँगी र अकल्पनीय मुद्रास्फीतिलाई अपरिहार्य देख्दैछौं त्यसले राम्रो संकेत भने गरेको छैन । जसको सामाजिक भार राजनीतिक परिवर्तनका रूपमा समेत देखा पर्ने सम्भावना बढेको छ ।
प्रतिक्रिया दिनुहोस