काठमाडौं । दसैं बिदामा पनि बैंकहरूले ग्राहकलाई सेवा दिने भएका छन् । सेवा सञ्चालन हुने शाखा, कर्मचारीको आलोपालो र सुरक्षा प्रबन्ध मिलाइसकेको बैंकहरूले जनाएका छन् । चाडपर्वको समयमा ग्राहक बैंकिङ कारोबारबाट बञ्चित नहोउन् भन्ने उद्देश्यले बिदाका दिनमा पनि सेवा दिने तयारी गरिएको बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए।
‘अरु दिनमा जसो सबै स्थानका शाखा सञ्चालन गर्न सकिदैन,’ उनले भने, ‘ग्राहकको बढी चहलपहल हुने स्थानका शाखा, प्रमुख व्यापारिक स्थानका शाखा (मागअनुसार) मार्फत वित्तीय सेवा दिइनेछ।
अहिले बैंक तथा वित्तीय संस्थाले हरेक दिन विभिन्न माध्यममार्फत २४सै घण्टा बैंकिङ सेवा दिइरहेको ढुङगानाले बताए । ‘यसपालिका दसैं बिदामा पनि ग्राहकले आफ्नो नजिकको बैंकमा गएर रकम झिक्ने र राख्ने काम गर्न सक्छन्,’ उनले भने, ‘यसका लागि ग्राहक बैंकहरूले तोकेको समय र शाखामा जानुपर्नेछ ।’
दसैंमा पैसाको कारोबार धेरै हुन्छ । त्यसकारण पैसा झिक्न र राख्नका लागि पनि बैंक तथा वित्तीय संस्थाको आवश्यकता पर्छ । सेवाग्राहीको यही आवश्यकता सम्बोधन गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरूले विगतका वर्षहरूमा जस्तै यस वर्षको दसैं विदामा पनि कार्यालय खुला राख्ने भएका हुन् ।
बैंकहरूले टीकाका दिनबाहेक सबै बिदाका दिन दैनिक २ देखि ३ घण्टा तोकिएका निश्चित कार्यालय खुला राख्नेछन् । तर ३ सय ६५ दिनमै बैंकिङ सेवा दिने बैंकले टीकाको दिन पनि बैंक खोल्ने तयारी भएको अध्यक्ष ढुंगानाले बताए।
बैंकिङ क्षेत्रको विकास र विस्तारसँगै पछिल्ला वर्षहरूमा बैंकहरूबीच प्रतिस्पर्धा पनि बढ्दै गएको छ। बढ्दो प्रतिस्पर्धाले सेवाको विविधता र गुणस्तर बढाएको छ।परिणाम बैंक तथा वित्तीय संस्थाले २४सै घण्टा बैंकिङ सेवा/३६५ दिनमै बैंकिङ सेवा दिइरहेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस