
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले भूमाफियासँग मिलेमतो गरेर सरकारी जग्गा अतिक्रमण गर्ने जस्तोसुकै ठूलो ओहदाको भए पनि सरकारले कारवाही गर्ने र सरकारी जग्गा संरक्षण गर्न सरकार प्रतिबद्ध रहने विश्वास व्यक्त गर्नुभएको छ ।
रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले सरकारी जग्गा हिनामिना गरेको प्रमाणित हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले सरकारी जग्गा हिनामिना गरेको प्रमाणित भएका जोसुकै पनि कानूनी कारवाहीको भागिदार बन्नुपर्नेमा जोड दिनुभयो ।
नेकपाका महासचिव विष्णुप्रसाद पौडेलको सन्दर्भमा हिनामिना गरेको नभेटिएकाले उहाँले राजीनामा दिनु आवश्यक नरहेको नेता पौडेलको भनाइ थियो । “विष्णु पौडेलले सरकारी हैसियत प्रयोग गरेर ललिता निवासको जग्गा खरीद गरेको होइन”, उहाँले भन्नुभयो, “प्रमाण पुगेको अवस्थामा व्यक्तिको अनुहार नहेरी भ्रष्टाचारीलाई कानूनी कारवाही गरेर सरकारले सरकारी जग्गाको संरक्षण गर्नेछ ।”
नेपाली काङ्ग्रेसका नेता मीन विश्वकर्माले नेकपाकै वरिष्ठ नेता जग्गा खरीद प्रकरणमा मुछिएको विचार व्यक्त गर्दै कीर्ते कागज र कीर्ते मोही खडा गरी किनबेचमा संलग्न व्यक्ति दण्ड सजायको भागिदार हुनुपर्ने बताउनुभयो ।
राजपाका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालले ललिता निवासजस्तो ऐतिहासिक जग्गा खरीद प्रकरणमा नेतालाई छुट हुने र सर्वसाधारणलाई मात्र कानून लाग्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस