aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

ईयू विदेश नीति प्रमुख चीनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ असोज २०८०
ईयू विदेश नीति प्रमुख चीनमा

एजेन्सी । आफ्नो सबैभन्दा ठूलो व्यापारिक साझेदारसँगको जोखिम व्यवस्थापन खोजीमा यूरोपेली युनियन (ईयू) का विदेश नीति प्रमुख जोसेप बोरेल बिहीबार चीन पुगेका छन्‌ ।  

इजराइल र हमासबीच युद्ध सुरु भएको केही दिनपछि यो भ्रमण भएको छ । उक्त युद्धले बोरेललाई युरोपेली विदेशमन्त्रीको आपत्कालीन बैठक गर्न प्रेरित गरेको थियो । चीनले सबै पक्षलाई ‘युद्धविराम’ गर्न आह्वान गरेको छ ।

बोरलको यो भ्रमणमा चिनियाँ विदेशमन्त्री वाङ यीसँगको वार्ता हुनुका साथै द्विपक्षीय सम्बन्ध, विश्वव्यापी चुनौतीहरू र व्यापारलगायतका मुद्दामा छलफल हुने बताइएको छ ।

ईयू–चीन उच्चस्तरीय वार्ताको पछिल्लो शृङ्खलामा यो भ्रमण यस वर्षको अन्त्यमा ईयू–चीन शिखर सम्मेलनसँगै सम्पन्न हुनुपर्ने ईयूले बताएको छ । 

‘मेरा समकक्षी विदेशमन्त्री वाङ यीसँग ईयू–चीन रणनीतिक वार्ताको सह–अध्यक्षता गर्न भर्खरै चीनमा ओर्लिएको छु’, बोरेलले ट्विटरमार्फत भनेका छन्‌, ‘सरकारी अधिकारीहरू, विद्वान र व्यावसायिक प्रतिनिधिहरूसँग ईयू–चीन सम्बन्ध तथा प्रमुख क्षेत्री र विश्वव्यापी चुनौतीहरूमा छलफल गर्न यो भ्रमण महत्वपूर्ण छ ।’

गत फेब्रुअरीमा युक्रेनमाथि रूसी आक्रमणपछि ईयू र चीनबीचको सम्बन्ध तनावपूर्ण छ । उक्त युद्धलाई चीनले भर्त्सना गर्न छाडेको छ ।

प्रतिक्रिया दिनुहोस