aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

दैनिक उपभोग्य वस्तुको कालोबजारी नियन्त्रण गर्न सांसदहरूको माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ असोज २०८०
दैनिक उपभोग्य वस्तुको कालोबजारी नियन्त्रण गर्न सांसदहरूको माग

काठमाडौँ । सांसदहरूले आसन्न दसैँ, तिहार, छठ पर्वका अवसरमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि र कालोबजारी बढेको भन्दै त्यसलाई नियन्त्रण गरी सहजरुपमा उपभोग्य वस्तु उपलब्ध गराउने वातावरण बनाउन सरकार समक्ष माग गरेका छन्‌ ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनहरूले विगतका वर्ष झै यसवर्ष पनि दसैँ, तिहार, छठलगायत महत्वपूर्ण चाडपर्वमा उपभोक्ता ठगिने गरेको, व्यापारीले कृतिम अभाव सिर्जना गरेर बजारमा उपभोग्य अभाव गराएकाले त्यस्ता कार्यमा संलग्नलाई कडा कारबाही गर्न आग्रह गरे ।

सांसद प्रदीप पौडेलले चाडबाडका बेला सधैँजसो बजारमा दैनिक उपभोग्य वस्तुको कृतिम अभाव सिर्जना हुने गरेको र कालोबजारी मौलाउने गरेको भन्दै यस्तो कार्यमा संलग्नलाई कानुनी कारबाही गरी उपभोग्य वस्तुसहज रुपमा उपलब्ध गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।सांसद प्रतिमा गौतमले दसैँ, तिहार, छठ नजिकिएको र यात्रुहरू गन्तव्यतर्फ लागिरहेको अवस्थामा महँगो भाडादर तिर्नु परेको, अखाद्य वस्तुको उपभोग बढेको, बजारमा महँगी बढेको र कृतिम अभाव सिर्जना गरेको भन्दै महँगी नियन्त्रण गराउन जोड दिए ।

सांसद पदम गिरीले चाडपर्वको मुखमा चिनीको कृतिम अभाव सिर्जना गरिएको र बजारमा कालोबजारी बढेकाले उपभोग्य वस्तुको सहज आपूर्तिका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । उनले स्थानीय तहका कर्मचारीको माग सम्बोधन गर्न सरकार समक्ष माग गरे । सांसद प्रेमबहादुर महर्जनले दसैँ नजिकिँदै जाँदा महँगी र अभाव हटाउन तथा गन्तव्यमा पुग्ने यात्रुलाई सहज यातायातको व्यवस्था मिलाउन माग गरे ।

सांसद बलराम अधिकारीले चाडपर्वको मुखमा स्थानीय कर्मचारीको समस्या सम्बोधन गर्न, उपभोग्य वस्तुको सहज आपूर्ति मिलाउनका लागि पहल गर्न आग्रह गरे । सांसद ठाकुर गैरेले पाल्पाली जनताले स्वास्थ्य बीमामार्फत स्वास्थ्य सेवा पाउनुपर्ने अधिकारबारे आफूले सदनमा पटक–पटक कुरा उठउनाका साथै स्वास्थ्यमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउँदा पनि जिल्लामा चिकित्सक अभाव रहेकामा कार्यान्वयनका लागि चासो नदिएको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस