
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले युरोपेली सङ्घ (इयू)का कमिस्नर जुत्ता उर्पियालिनेनलाई भेटेर नेपाललाई हवाई सुरक्षा चासोको सूचीबाट हटाउन आग्रह गरेका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा भाग लिने क्रममा मोरक्कोको मारकेसमा रहनुभएका अर्थमन्त्री महतले साइड लाइन वार्तामा युरोपियन कमिस्नरसँग यस्तो आग्रह गरेका हुन् ।
इयूलाई नेपालमा आर्थिक सहायता बढाउन मन्त्री महतले आग्रह गरे । सन् २०१३ देखि इयूले नेपालका वायु सेवा कम्पनीलाई हवाई सुरक्षा चासोमा राखेको छ । जसका कारण नेपाली वायुसेवा कम्पनीले युरोपको आकासमा उडान गर्न पाउँदैनन् । इयूले २०७९ असारमा नेपालका वायुसेवा कम्पनीको अनुगमन गर्दा हवाई सुरक्षा चासोबाट हटाउन अस्वीकार गरेको थियो ।
विसं २०७९ फागुनमा इयूले हवाई सुरक्षाको अवस्थाका विषयमा स्थलगत अनुगमन गर्ने योजना सार्वजनिक गरेको थियो । तर गत माघमा पोखरा विमानस्थलमा भएको दुर्घटनापछि इयूको टोली नेपाल अनुगमनमा आएन । यस वर्ष गत साउन र भदौमा इयूको हवाई सुरक्षा समितिले नेपाली वायुसेवा कम्पनी र हवाई सुरक्षाको विषयमा स्थलगत अध्ययन गरेको छ । अघिल्लो वर्ष नोभेम्बरमा इयूले प्रकाशित गरेको प्रतिवेदनमा नेपाली वायुसेवा कम्पनीको हवाई सुरक्षा चासोमै केन्द्रित भएको थियो ।
प्रतिक्रिया दिनुहोस