aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

काठमाडौंका व्यापारिक क्षेत्रमा बढ्यो ग्राहकको चहलपहल, व्यापार भने निराशाजनक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ असोज २०८०

काठमाडौं । दशैं लगायतका चाडवाडमा व्यापारिक गतिविधि बढ्ने आम अपेक्षा सोचेजस्तो देखिएको छैन । तथापि दशैं शुरु हुन दुई साताअघिदेखि काठमाडौं प्रमुख व्यापारिक स्थलहरूमा भने मानिसहरूको चाप भने बढेको छ । 

प्रमुख व्यापार केन्द्र न्युरोड, भोटाहिटी, महाबौद्ध लगायतका क्षेत्रमा खुद्रा व्यापार केही बढे पनि अधिकांश होलसेल व्यापारीहरू भने निराश नै देखिएका छन् । त्यसमा पनि सटक कबोल भाडामा लिएर व्यापार व्यवसाय गर्नेहरूभन्दा सडक पेटी र खुल्ला स्थलहरूमा मौसमी व्यापार गर्ने खुद्रा व्यापारीहरूमा मानिसहरूको घुइँचो देखिएको छ । 

यसले झट्ट हेर्दा दशैंको चाड लक्षित व्यापार राम्रै गतिमा भइरहेको हो की भन्ने एकातिर भ्रम छरेको छ भने दशैंमा व्यापार ठप्प नै हुन्छ की भनेर त्रासमा बसेका व्यवसायीहरूमा केहिहदसम्म आशा सञ्चार भएको देखिन्छ । 

विगतझैँ दशैं अगाडी धेरैजसो पसलहरूमा लाग्ने ‘सेल’ यस पटक पनि व्यापकरुपमा देखिएको छ । तर, दरबारमार्ग लगायतका क्षेत्रहरूमा ब्राण्डेड सामानहरू ‘सेल’मा खरिद गर्ने विगतको ‘ट्रेन्ड’ यस पटक भने देखिएको छैन । त्यस क्षेत्रमा ६० प्रतिशतसम्मको छुटमा ‘सेल’ अफर घोषणा गर्दा पनि दरबारमार्गका पसलेहरुले ग्राहक तान्न सकेका छैनन । 

तर, न्युरोड, इन्द्रचोक, महाबौद्ध, भोटाहिटी, असन क्षेत्रमा राखिएको ‘सेल’ अफरमा भने पर्याप्तरुपमा ग्राहक पाइरहेका छन् । यसले के स्पष्ट पर्छ भने विगतको भन्दा आम मानिसहरूको क्रय शक्तिमा निकै ठूलो ह्रास आएको छ । जसरी भए पनि चाड मान्नुपर्ने बाध्यताकाबिच सस्तोमा आवश्यक सामानहरू खरिद गर्न सोचका साथ आम मानिसहरू बजारमा किनमेल गर्न निस्किएको देखिन्छ । 

के भन्छन् सटर व्यापारी ? 

भोटाहिटीमा रेडिमेट कपडाको व्यापार गर्दै आएका राजन केसी खुद्रा व्यापारमा समेत ठूलो मन्दी आएको देखिएको बताउँछन् । पसलमा सामान त्यसै थुपार्नु भन्दा अत्यन्तै कम नाफामा आफूहरूले बिक्री गरिरहेको उनले जानकारी दिए । 

भोटाहिटी व्यापार समितिका उपाध्यक्ष समेत रहेका उनी सो क्षेत्रमा ३० देखि ३५ प्रतिशतसम्म छुटमा सबै व्यापारीहरूले सामान बिक्री गरिरहेको बताउँछन् । अहिले अवस्था त्यति उत्साहपूर्ण नरहेकोले चाडै नै व्यापारले गति लिने आशा गर्दै उनी भन्छन्, ‘यो मन्दीबाट मुक्ति पाइन्छ भन्ने अपेक्षा छ । कोरोना लगतै बजारमा चहलपहल बढेजस्तै अहिले घटेको व्यापार फेरि बढ्छ होला भन्ने आशा छ ।’ 

कोरोना महामारी अघिको समयभन्दा अहिले ६० प्रतिशतको हाराहारीमा व्यापार घटेको उनी बताउँछन् । उनको जस्तै अवस्था छ पुतलीसडकको न्युप्लाजामा किराना पसल सञ्चालन गर्दै आएका यज्ञराज घिमिरे विगतभन्दा लगभग २५ प्रतिशतले व्यापारमा कमी आएको बताउँछन् । चाडवाडलाई लक्षित गर्दै पसलमा सामान थपे पनि व्यापार नभएको उनको गुनासो छ । 

ऋण लिएर घर भाडा लगायतका खर्च धान्नु परेको स्थिति आएको बताउँदै घिमिरे भन्छन्, ‘कोरोना महामारी अगाडीको तुलनामा लगभग ७० प्रतिशतले व्यापारमा कमी आएको छ ।’

लमजुङ स्थायी घर भई काठमाडौंका बागबजारमा मदिरा पसल सञ्चालन गर्दै आएका कैलाश अधिकार पनि व्यापारमा ठूलै मन्दी आएको बताउँछन् । बढ्दो महँगीले गर्दा व्यापारमा कमी आएको बताउँदै उनी भन्छन्, ‘चाडवाडमा व्यापार हुन्छ भन्ने लागेको थियो । त्यस्तो भएन । सरकारले साना व्यापारीहरूलाई व्यापार टिकाउन कुनै काम गरेन भने अब थेग्न सक्ने अवस्था छैन ।’

तर, भोटाहिटीमा रेडिमेट व्यापार सञ्चालन गर्दै आएकी पुजा जोशी भने व्यापार सन्तोषजनक नै रहेको बताउँछिन् । दशैं नजिकिँदै गर्दा व्यापार अझै बढ्ने अपेक्षामा रहेकी उनी निराश बन्नुपर्ने स्थिति नरहेको बताउँछन् । 

उनी भन्छिन्, ‘चाडवाडमा राम्रै व्यापार हुन्छ भन्ने लागेको छ । त्यही आशाले पर्याप्तरुपमा सामान राखेको छु ।’ तर, कोरोना महामारीपूर्वक अवस्थामा जस्तो व्यापार नभएको भन्ने उनी स्वीकार्छिन ।  

सबै तस्बिरः श्यामसुन्दर गाैराे  

 

प्रतिक्रिया दिनुहोस