
काठमाडौं । ‘भू – माफिया’ ! यो शब्द सामान्य मानिसलाई सम्बोधन गर्न प्रयोग हुँदैन । जसले सरकारी जग्गा वा कुनै व्यक्तिको जग्गा अर्थात् अर्काको स्वामित्वमा रहेको जग्गा, जग्गाधनीलाई थाहै नदिई किनबेच गर्न सक्छन् । भू – माफियाहरूले जग्गाको स्वामित्व हेरफेर सम्बन्धी त्यस्तो काम गर्छन् जुन सम्भव छ भनेर सामान्य मानिसले कल्पना समेत गर्न सक्दैनन् ।
रुपन्देहीमा यति बेला त्यस्ता भू माफियाको जगजगी छ। त्यो जिल्लामा सरकारी जग्गा सुकुम्वासीको नाममा बेच्ने, कब्जा गर्ने, बौद्धिक अपाङ्गता भएकाहरूको जग्गा हडप्ने, मालपोत, नापी मिलाएर विभिन्न सार्वजनिक तथा सामुदायिक संस्थानको जग्गा अतिक्रमण गर्ने काम हुने नौलो होइन । तर, ठाउँ विशेष र घटनाको प्रकृतिका कारण अहिले बुटवल तरङ्गित छ ।
सबैको ध्यान तान्नेगरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गामा भू माफियाको गिद्धे नजर परेको छ । विमानस्थलको जग्गाको मुआब्जा दिलाउने विषयमा पनि दलालहरूले धेरै नै रकमको चलखेल गरेका थिए । बाटो नभएका कतिपय जग्गामा बाटो देखाएर मुआब्जा लिए त कतिपय जग्गाको मुआब्जा तालिका अनुसार ढिला पाउनुपर्नेमा छिटो दिलाउन भूमिका खेले ।
दलालहरूले विमानस्थलमा घरजग्गा पर्नेहरूको फाइल अगाडि बढाइ दिए बापत पनि राम्रै कमिसन प्राप्त गरे । त्यो सामान्य नै मानियो । तर, यति बेला भने रन वेको जग्गा नै व्यक्तिको नाममा भएको खबर थाहा पाउँदा भने नियामक निकाय बाध्य भएर बोल्न थालेको छ ।
यो खबर सुन्दा धेरै आश्चर्यमा पनि परेका छन् । जहाज उड्नु भन्दा पहिले गुड्ने ठाउँ जसलाई ‘रन वे’ भनिन्छ त्यहाँ यति बेला दर्जनौँ जहाजले दौडँदै टेकअफ लिने गर्दछन् । तर, उक्त ठाउँ नै व्यक्तिको नाममा देखिएको छ । ४४ अर्ब भन्दा बढी खर्चेर बनाइएको यो विमानस्थलको प्रशासन कति कमजोर छ भन्ने यो घटनाले प्रस्टाउँछ । मुआब्जा दिइयो तर जग्गा व्यक्तिकै नाममा रह्यो ।
यी हुन् ‘रन वे’ का किर्ते मालिक
गत वैशाख ८ गते अपुताली पाएका रमाकान्त मिश्रका नाति पर्वतराज मिश्र र ग्रिजेशकान्त मिश्रले १९ बिगाहा १३ कट्ठा १८ धुरका दरले जिल्ला मालपोत कार्यालय रुपन्देहीबाट पुर्जा लिए । रमाकान्त मिश्राले अपुताली आएको ३० बिगाहा १४ कट्ठा १४ धुर पाएका थिए । बाँकी ११ बिगाहा जग्गा अहिले कसैको नाममा छैन ।
तत्कालीन कित्ता नं. ९ ख २९ हाल ३१८ कित्ता नम्बरको कालीमाइ मन्दिरको नाममा रहेको १५ कट्ठा ७ धुर जग्गा ११ जनाले मुआब्जा लिई बाँडेको स्रोतले जानकारी दिएको छ । उक्त जग्गाको मुआब्जा लिनेमा ग्रिजेशकान्त मिश्र, पर्वतराज मिश्र, जनार्दन त्रिपाठी रहेका छन् । मिश्र र त्रिपाठीलाई मुआब्जा दिलाउन भूमिका खेल्नेहरूमा तत्कालीन सिनपा १० का वडाध्यक्ष विजयराज धोबी र स्याङ्जाका हुमबादुर गुरुङ, राजु कोइराला, रुपन्देहीका विष्णु केसी, कनहियालाल गुप्ता, त्रुफेल, बब्लु पाण्डे, चक्रबहादुर थापा रहेका छन् ।
तत्कालीन भुजौली गाबिस ७ को ६१ नम्बर कित्ताको १ बिगाहा ११ कट्ठा दाहसंस्कार गर्ने जग्गा पर्सुराम घिमिरेको नाममा गएको छ । सो जग्गा वि.सं. २०७१ सालमा बुटवल मालपोत कार्यालयले कम्प्युटरमा इन्ट्रि गरेको पाइएको छ । स्रोतका अनुसार सुजन श्रेष्ठले पर्सुराम घिमिरेको नाममा इन्ट्रि गरेका हुन् । बुटवलबाट कम्प्युटरमा इन्ट्री गरे पनि भैरहवा मालपोत कार्यालयमा भने त्यसको अभिलेख छैन ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गाको विषयमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । उक्त समितिले दर्ता प्रक्रिया निर्विवाद हो भन्ने पुष्टि नभएकोले मुआब्जा नदिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।
तत्कालका लागि मुआब्जा पाउने कार्य रोकेको र थप अनुसन्धान गरिरहेको बताउँदै विस्तृत छानबिनको लागि सम्बन्धित निकायमा पठाएको प्रमुख अर्यालले बताए । उता मालपोत कार्यालय रुपन्देहीका निमित्त प्रमुख ऋषिराम पौडेलले जग्गा धनीको पुरानो विवाद रहेको र अदालतले फैसला गरे अनुसार लालपुर्जा दिएको बताए ।
गत वैशाख ८ गते मालपोत प्रमुख कुमार आचार्यको पहलमा पर्वतराज मिश्र र ग्रिजेशकान्त मिश्रको नाममा १९ बिगाहा १३ कट्ठा १८ धुर जग्गा पास भएको निमित्त प्रमुख पौडेलले बताएका छन् ।
अनगिन्ती घटना
रुपन्देहीमा यस्ता घटना पहिले देखी नै हुँदै आएका छन् । तत्कालीन सेमलार गाविस वडा नं. २ ज कि. नं. ५२ को १ बिगाहा ६ कट्ठा १७ धुर जग्गा व्यक्तिको नाममा भयो । साबिकको आनन्द वन गाविस वडा नं. ९ घ कि.नं. १० को जग्गा १५ बिगाहा ९ कट्ठा ५ धुर जग्गा, साबिकको मक्रहर गाविस वडा नं. १ घ कि.नं. २२० को १८ कट्ठा १ धुर र कित्ता नं. २२१ को १८ कट्ठा १ धुर जग्गा, तत्कालीन मोतीपुर गाविस वडा नं. १ ग कि.नं. ४२ को १ बिगाहा १ कट्ठा १५ धुरको सरकारी जग्गा किर्ते गरि व्यक्तिका नाममा पास भए रुपन्देहीको मायादेवी गाउँपालिका–४ झुलझुला (साबिक सेमरी गाविस–७ ख) स्थित ४१ कट्ठा १० धुर सार्वजनिक जग्गा व्यक्तिको नाममा पास भयो ।
बौद्धिक अपाङ्गता भएका सियारी गाउँपालिका–३, भैसाखादरका परशुराम यादवको १७ कट्ठा १० धुर जग्गा वि.सं. २०७७ माघ २२ गते अर्कै व्यक्तिले पास गरे । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १० मा तत्कालीन वडा अध्यक्ष रहमान अलि मियाँको सिफारिसमा २०७७ मा गरिब कोहारको १० कट्ठा १७ धुर जग्गा नक्कली व्यक्ति खडा गरेर बिक्री भयो । सियारी गाउँपालिका वडा नम्बर २ का तत्कालीन अध्यक्ष रामकिसन थारुको सिफारिसमा बुद्धिराम कहारको २ बिगाहा जग्गा अर्कै व्यक्तिको नाममा खरिद बिक्री भयो ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलास कार्यालयको बुटवल उपमहानगरपालिका वडा नम्बर ४ मा २ बिघा ५ कट्ठा १४ धुर जग्गा अतिक्रमणमा परेको छ । मायादेवी गाउँपालिका वडा नम्बर ८ तल्कालिन हाटिबनगाई गाविस वडा नम्बर ५ क लभ गार्डेन पछाडिको सार्वजनिक जग्गा कित्ता नं. ३५९ र ३६० मा गरि १६ कट्ठा ३ धुर सुरेश अर्यालको नाममा २०७५मा पास भयो । सियारी गाउँपालिका वडा नम्बर ३ मा तत्कालीन वडा अध्यक्ष घिसन यादवको सिफारिसमा २०७७ मा १२ कट्ठा जग्गा जोगिन्दर यादवको नाममा पास भयो ।
सियारी गाउँपालिका वडा नम्बर २ मा नक्कली हकदार बनाएर १ बिघा १९ कट्ठा ५ धुर जग्गा पास भयो । उक्त जग्गा गत असार २५ गते साबिकको मैनहिया गाविसको वडा नम्बर ७ क कित्ता नम्बर ६७ को १४ कट्ठा ८ धुरबाट ६ कट्ठा ४ धुर र सोही गाविसको वडा नम्बर ७ ख को कित्ता नम्बर १०० को २ कट्ठा १३ धुर गरि ८ कट्ठा १७ धुर जग्गा र जवाहर लाल कसौधनको नाममा साबिक मैनहिया गाविसको वडा नम्बर ७ ख कित्ता नम्बर १२० बाट ५ कट्ठा साढे १३ धुर जग्गा भारतकी कलमावती यादवको नाममा नक्कली बहिनी बनाएर पास भयो ।
प्रतिक्रिया दिनुहोस