
रुपन्देही । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले तालाबन्दीमा नउत्रन पत्रकार सम्बद्ध संगठनहरुलाई आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीले दशैं, दीपावली, छठ र नेपाल संवत पर्वको अवसरमा आइतबार बुटवलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै शुद्धीकरणको विषयलाई लिएर तालाबन्दी गरेर महासंघको गरिमा नघटाउन आग्रह गरेका हुन् ।
शुद्धीकरणको विषयलाई लिएर ठाउँ ठाउँमा प्रेस चौतारीले तालाबन्दी गरेकोतर्फ संकेत गर्दै संवाद र वार्ताबाट निकासमा जान सकिने अध्यक्ष पोख्रेलले आग्रह गरे । ‘सबैको साझा संस्था बनाउने जगका रूपमा शुद्धीकरण गरिएको हो, विजयादशमीको शुभकामना दिदैं म बुटवलबाट भन्छु, तालाबन्दी निषेधले पत्रकार महासंघको ओझ घट्ने हो’ अध्यक्ष पोखरेलले भने, ‘संवाद गरौँ, सहकार्य गरौँ, विधान र शुद्धीकरण अनुसार नयाँ कोर्समा अगाडि बढौँ ।’
उनले पत्रकार महासंघ संवादबाटै निकास निकाल्न तयार रहेको बताउँदै सबैको साझा छाता संगठन बनाउने हिसाबले टाउका गनेर हिसाबकिताबमा मात्रै सीमित नहुन आग्रह गरे । ‘एउटा सङ्ख्या बढी र तल हुँदा चुनाव जित्ने र हार्ने अवस्थाको अन्त्य गर्नुपर्छ, शुद्धीकरणले गर्न खोजेको त्यही हो।’ र माथि हुँदैमा चुनाव जित्ने र हार्ने अवस्था हुँदैन’ उनले भने । उनले नेपालको पछिल्लो राजनीतिमा समेत सहकार्यको विकास भएकाले नेतृत्वमा कसैलाई पनि निषेध गर्न नहुने बताए । उनले विगतमा निषेध गरिए पनि अब त्यसो हुन दिन नहुने उनको भनाई छ । कोही मिलेर कसैलाई सक्ने नभई सबैलाई समेटेर लैजानका लागि शुद्धीकरण गरिएको बताए ।
उनले पछिल्लो समय सरकार सरकारजस्तो नहुने, संसद् संसदजस्तो नभएको बताउँदै अदालत, प्रहरी, कर्मचारी संयन्त्र जताततै प्रश्न उठ्दा पत्रकार महासंघले आफैबाट शुद्धीकरण थालेको बताए । ‘शुद्धीकरण मार्फत सुधारको प्रयत्न गरिएको हो’ अध्यक्ष पोख्रेलले भने ।
अध्यक्ष पोखरेलले पत्रकारितामा बुटवल नै राजधानी रहेको बताउँदै त्यसका लागि पूर्वाधार निर्माण गर्ने गरी योजना बनाउन आग्रह गरे । उनले बुटवलको मोफसलमा पत्रकारिताको राजधानीका रूपमा परिचित गराउने गरी नयाँ पुस्तालाई चिनाउने गरी योजनाबद्ध काम गर्नुपर्नेमा जोड दिए। ‘अरूको राजधानी जहाँसुकै होला, मोफसलमा पत्रकारिताको राजधानी बुटवल नै हो’ उनले भने ।
उनले दशैं, तिहार, छठ र नेपाल सम्वत जस्ता पर्वहरूले सञ्चार क्षेत्रको विज्ञापन बजारको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले चाडपर्वहरूमा तडकभडक र विकृतिहरू देखा परेको बताउँदै यसतर्फ सञ्चार क्षेत्रले बहस चलाउनुपर्ने बताए । उनले नेपाली चाडपर्वको आफ्नै खालको मौलिकता रहेको तर, विपन्न समुदायको बारेमा पनि सोच्नुपर्ने समय आएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले चाडपर्वहरूले सबैलाई एकतामा जोड्नुपर्ने बताए । उनले महासंघले रुपन्देहीका सबै सरोकारवालाहरूलाई एकै ठाउँमा राखेर शुभकामना आदान प्रदान गरेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्र र प्रदेशका नेतृत्व, रुपन्देहीका पूर्व अध्यक्ष एवं सल्लाहकार, राजनैतिक पार्टीका नेतृत्व, उद्योगी व्यवसायी, सामाजिक संघसंस्था, पत्रकार सम्बद्ध संगठनका व्यक्ति र पत्रकारहरूको उपस्थिति रहेको सचिव विनोद परियारले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस