aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

इजरायल-प्यालेस्टाइन द्वन्द्वले यसरी निम्त्याउँदैछ विश्वव्यापी आर्थिक संकट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ असोज २०८०
इजरायल-प्यालेस्टाइन द्वन्द्वले यसरी निम्त्याउँदैछ विश्वव्यापी आर्थिक संकट

सन् १०७३ को अक्टोबरमा इजरायल र अरब मुलुकहरू बीच युद्ध भयो ।  अरब राष्ट्रहरूको तर्फबाट इजिप्ट र सिरियाले गठबन्धनको नेतृत्व गरेका थिए । त्यो युद्धको दौरान तेल उत्पादक मुलुकहरूको संगठन ओपेकले इजरायलको पक्षमा उभिएका पश्चिमा मुलुकहरू बिरुद्ध खनिज तेल आपूर्तिमा प्रतिबन्ध लगाए । परिणामस्वरूप विश्वव्यापी रुपमा खनिज तेलको मूल्य ६ महिनामा ३०० प्रतिशतले बढ्यो । अझ त्यो मूल्यवृद्धि अमेरिकालाई त्यो भन्दा चर्को पर्‍यो किनकि त्यो बेला यो मुलुक तेल आपूर्तिमा पूर्ण रुपमा मध्यपूर्वमा आश्रित थियो ।

हो, अहिले फेरी त्यही इतिहास दोहोरिने सम्भावना बढेको छ किनकि इरानले इजरायललाई ढिलो हुनुभन्दा अघि नै गाजामा गरिरहेको आक्रमण रोक्न भनिसकेको छ । उता इजरायललाई सहयोग गर्न अमेरिकाले लडाकु विमानले भरिएको दोस्रो जहाज भूमध्य सागरमा तैनाथ गरिसकेको छ । जसले गर्दा अब इजरायल-प्यालेस्टाइन युद्ध थप मुलुकहरूमा फैलने र त्यसले विश्वव्यापी आर्थिक संकट थप गहिरो पार्ने सम्भावना बढेको छ ।

यदि यो युद्धमा अमेरिका प्रतक्ष्य रुपमा जोडियो भने युद्धले क्षेत्रीय युद्धको स्वरूप ग्रहण गर्ने पक्का जस्तै छ । त्यो हुने बित्तिकै सन् ७० को दशकमा झैँ तेल उत्पादक राष्ट्रहरूले अमेरिका र युरोपलाई तेल आपूर्ति रोक्नेछन् । उता इरानले सर्वाधिक धेरै तेल आपूर्ति हुने जलमार्ग हर्मुज घाँटीबाट हुने तेलको आपूर्ति र अन्य कारोबारमा रोक लगाउने छ । जसको कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य नै ३०० अमेरिकी डलर प्रतिब्यारेल सम्म पुग्न सक्ने अनुमान अर्थशास्त्रीहरुले गरेका छन् जुन अहिले ९० अमेरिकी डलर प्रति ब्यारेल मात्र रहेको छ ।

अहिले नै पनि रुसबाट युरोपमा आपूर्ति हुँदै गरेको प्राकृतिक ग्याँसको पाइपलाइन बन्द छ । जसले गर्दा पुरै युरोप अहिले अमेरिका र मध्यपूर्वबाट आपूर्ति भएको ग्याँसको भरमा छ । यदि यहि रफ्तारमा मध्यपूर्वमा तनाव कायम हुने र त्यसमा थप राष्ट्रहरू समाहित हुँदै जाने हो भने यो हिउँदमा युरोप जाडोमा कठाङ्ग्रिन बाध्य बन्नु पर्ने हुनसक्छ । त्यस्तो अवस्था आएको खण्डमा झन् विश्वको अर्थतन्त्र अकल्पनीय संकटमा पर्ने हुन्छ । यसरी इजरायल-प्यालेस्टाइन युद्धले विश्वव्यापी ऊर्जा आपूर्तिमा ल्याउने समस्याले विश्व वित्तीय प्रणालीमा नै ठूलो समस्या सिर्जना गर्ने सम्भावना यो द्वन्द्व पछिल्लो संस्करणले एक हप्ता पुरा गर्दा बढेर गएको छ ।

यदि विश्व समुदायले सुझबुझपूर्ण निर्णय र अतिरिक्त दबाब सिर्जना गरेर इजरायललाई अहिले नै उसले गाजामा चलाइरहेको नरसंहार नरोक्ने हो भने स्थित भयावह बन्दै गरेको देखिन्छ ।  चीनका विदेश मन्त्री वाङ यीले इजरायलले गाजाका बासिन्दालाई सामूहिक दण्ड दिन रोक्नु पर्ने बताउँदै साउदी अरबका विदेश मन्त्री फैसल बिन फरहानलाई फोन गरेर गाजामा इजरायलले गरिरहेको कारबाही आत्मरक्षाको दायरबाट बाहिर पुगेको बताएपछि यो द्वन्द्व क्षेत्रीय रुपमा मात्रै सीमित नरहने पो हो कि भन्ने चिन्ता समेत थपिएको छ । यी सबै घटनाक्रमले अहिले नै समस्याग्रस्त अवस्थामा रहेको विश्व अर्थतन्त्र माथि कालो बादल मडारिरहेको प्रतिबिम्बित गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस