
काठमाडौं । नेपालीको महत्वपूर्ण चाड दशैँले सबैलाई छोएको छ । शहरमा बस्ने गाउँघर तिर गएका छन् । विदेशमा भएका स्वदेश फर्किएका छन् । आज दशैँको नवौ दिन अर्थात् महानवमी । यस्तो दिनमा समेत चाडबाड नभनी मुलुक निर्माणको अभियानमा केन्द्रीत गर्नेहरु पनि यही बेला सक्रिय छन् ।
चाडबाड पनि नभनी आफ्नो मन्त्रालय मातहतको आयोजनाको अवस्था के छ भनेर बुझ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आज दिनभर भैरहवा आसपासमा सक्रिय रहए । निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र अन्तरराष्ट्रिय बुद्धिस्ट कन्फरेन्स तथा मेडिटेशन हलको स्थलगत निरीक्षणमा उनी व्यस्त भए ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सो विमानस्थललाई सकेसम्म चाँडै सम्पन्न गर्ने सरकारको लक्ष्य छ ।
विमानस्थलको काम के भइरहेको छ, अवस्था के छ भन्ने कुराको जानकारी लिन मन्त्री भट्टराई नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, इन्जिनियर प्रदीप अधिकारीसहितको टोली लिएर आज निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल पुगका हुन् । मध्य दशैँमा पनि विमानस्थल निर्माणको काम चलीरहेको छ, अरु दिन जस्तै ।
मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल साघुरो भएका कारण विकल्पका रुपमा गौतमबुद्ध विमानस्थल निर्माण शुरु गरिएको हो ।
पूरानो तालिका अनुसार यही असोज महिना भित्रै पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि काम गर्दै जाँदा थप केही समय लागेको छ, गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सम्पन्न गर्न । विशेष गरी शान्तिका अग्रदूत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउन चाहने पर्यटकलाई केन्द्रमा राखेर सो विमानस्थल निर्माण गरिएको हो ।
यही असोज ५ गते बसेको राष्ट्रिय समस्या समाधान समितिको ४६ औँ बैठकमा पेश भएको विवरणअनुसार सो विमानस्थलको कूल भौतिक प्रगति ८० प्रतिशतको हाराहारीमा पुगेको छ । तोकिएको समयमा नै काम भएको खण्डमा राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा पहिले पूरा हुने आयोजनाको रुपमा सोही आयोजना देखिएको छ ।
आगामी पुसभित्र निर्माण सक्ने लक्ष्यमा मन्त्रालय छ । सोही लक्ष्यअनुसार काम भइरहेको छ । आगामी चैतदेखि त व्यवसायिक उडान नै गर्ने लक्ष्य तय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस