aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

गाजामा ड्यारियन ग्याप बिर्साउने शरणार्थी संकट !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० असोज २०८०
गाजामा ड्यारियन ग्याप बिर्साउने शरणार्थी संकट !

एजेन्सी । प्यालेस्टाइनको गाजा क्षेत्रमा शरणार्थी संकट गहिरिएको छ । इजरायलले गरिरहेको भयानक आक्रमण र नाकाबन्दीका कारण गाजाका बालबालिकाले पानी समेत पिउन पाइरहेका छैनन् । लाखौं मानिसहरू विस्थापित भइरहेका छन्‌ । जारी युद्ध-क्रुरता शरणार्थी मामिलामा कुख्यात ड्यारियन ग्याप र इटालीको लाम्पेडुसा टापुलाई समेत बिर्साउने खालको छ ।

अक्टोबर ७ मा गाजाको कट्टरपन्थी लडाकु समूह हमासले थल, जल र हवाइ आक्रमण गर्दा इजरायलमा १४०० मानिसको ज्यान गएको थियो । लगत्तै इजरायलले पनि गाजापट्टीमा भीषण आक्रमण थालेको थियो । त्यहाँ मृतकको संख्या हजारौं पुग्दा पनि इजरायलले भीषण हवाई र जमिनी आक्रमण गरिरहेको छ । उसले गाजाबासीहरूलाई आफ्नो थातथलो छाड्न आदेश दिइरहेको छ ।

गाजाको उत्तरी क्षेत्रबाट विस्थापित भएका मानिसहरू खान युनिस इलाकामा थुप्रिएका छन्‌ । त्यहाँसम्म पुग्न सर्वसाधारणहरूले आफ्नो ज्यानको बाजी थाप्दै लामो पैदल यात्रा गरिरहेका छन्‌ । गाजा शहरबाट आएका मानिसहरूलाई भरथेग गर्नेगरी रसदपानी उपलब्ध गराउन खान युनिस शहरले सकिरहेको छैन । त्यहाँको हरेक गल्ली र चोकहरूमा वृद्धवृद्धा, महिला र बालबालिका भोकभोकै लडिरहेका छन्‌ ।

उत्तरी गाजामा रहेका ११ लाखमध्ये ४ लाख मानिसहरू सलाह अल-दीन सडक हुँदै दक्षिणी गाजा पुगेका छन्‌ । इजरायलले शनिबार नै २४ घण्टाको समय दिएर दक्षिणी गाजा खाली गर्न, अन्यथा आक्रमण ब्यहोर्न चेतावनी दिएको थियो । आइतबार रातिदेखि नै त्यस क्षेत्रमा भीषण बमबारी भइरहेको छ ।

खान युनिसमा ४ लाख मानिसको बसोबास छ । त्यहाँ केही दिनभित्रै ६ लाख मानिस थपिएका छन्‌ । यी ६ लाख मानिसहरूलाई शीर ढाक्ने कपडा र प्राण धान्नका लागि खानेकुरा चाहिएको छ । त्यो भन्दा पनि अत्यावश्यकता त पानीको हो, जो आउने स्रोत इजरायलले ध्वस्त पारिदिएको छ ।

सीमित संशाधन रहेको यो शहरका अस्पतालहरू इजरायली आक्रमणमा घाइते भएका र बिरामी परेका सर्वसाधारणले भरिएको छ । उनीहरूलाई आधारभूत उपचार सेवा दिन पनि सकस परिरहेको छ । अस्पतालका कोरिडोर शरणार्थीले भरिएका छन्‌ । त्यहाँ मानिसहरूको क्रन्दन र चित्कारमात्रै सुनिन्छ । लडाईंका बेला अस्पताललाई सम्भवतः सबैभन्दा सुरक्षित स्थान मानिन्छ, किनकी अस्पतालको सुरक्षा अन्तरराष्ट्रिय कानूनमार्फत नै सुनिश्चित गरिएको छ । तर त्यहाँ पनि इजरायलले कुन क्षण बम बर्साउँछ भन्ने भय छ ।

चिकित्सकहरूले आफूसँग बिरामीलाई दिनका लागि केही कुरा पनि बाँकी नरहेको बताइरहेका छन्‌ । अस्पतालमा पुगेका बिरामीहरूलाई प्रतिदिन प्रतिव्यक्ति ३०० मिलिलिटर पानी दिने गरिएको छ । गम्भीर बिरामी नभएका मानिसहरूले त त्यही पानी पानी पनि पाइरहेका छैनन्‌ । यस्तो लाग्छः पानी पिउनै नपाएर हजारौं प्यालेस्टाइनीको जीवन निख्रँदैछ ।

खान युनिस पनि इजरायली हमलाबाट सुरक्षित छैन । बमबारी भइरहेको छ । युद्धक्षेत्र बनिसकेको त्यहाँ इजरायलले गरेको आक्रमणमा ध्वस्त भएका संरचना र भवनका भग्नावशेषमात्रै देख्नुपर्छ । यो खान युनिस शहरको मात्रै सारसंक्षेप रिपोर्ट हो । गाजाका अन्य क्षेत्रमा शरणार्थी संकट कहालीलाग्दो अवस्थामा पुगिसकेको छ । प्यालेस्टाइनको गाजापट्टीको जनसंख्या नै कम्तिमा २० लाख छ । इजरायली आक्रमणका कारण ती सबै मानिस कुनै न कुनै ढंगले विस्थापनमा परिरहेका छन्‌, शरणार्थी बन्न बाध्य भइरहेका छन्‌ ।

ड्यारियन ग्यापलाई बिर्साउँदै

प्यालेस्टाइनको गाजापट्टीमा निम्तिएको भयानक शरणार्थी संकटले दक्षिण अमेरिकाको शरणार्थी संकटलाई नै बिर्साइदिएको छ । टाउको सोझ्याएर खसालिएको इजरायली बमगोलाबाट बच्दै उनीहरू भागदौड गरिरहेका छन्‌ । लाग्छ : त्यहाँ मानिसले सोच्ने सबैभन्दा संकटपूर्ण स्थिति छ ।

यो वर्षको शुरुदेखि नै मिडियाहरूमा शरणार्थी संकटका खबर आउँदा ड्यारियन ग्याप छाइरह्यो । पानामा र कोलम्बियाबीच रहेको पहाड र भयानक जंगल हुँदै विस्तारित १०० किलोमिटर लामो बाटोलाई ‘डेरियन ग्याप’ भनिन्छ । दलदल, सर्प, जंगली जनावर र आपराधिक कारोबारका कारण यो बाटोलाई विश्वकै सबैभन्दा खतरनाक बसाइँसराइ गर्ने मार्ग मानिन्छ । यो मार्ग हुँदै आवतजावत गर्ने धेरै मानिसहरूले ज्यान गुमाउने गर्छन् । तर, मध्य र दक्षिण अमेरिकालाई जोड्ने यो एउटैमात्र जमिनी बाटो हो ।

यो ग्याप पार गरेर अमेरिका जाने आप्रवासीको सङ्ख्या यो वर्ष चार लाख नाघेको छ । गत वर्षको तुलनामा यो सङ्ख्या ६२ प्रतिशतले बढी हो । भेनेजुयलाको संकटपूर्ण अवस्थाका कारण त्यहाँका झण्डै २५ प्रतिशत नागरिकले देश छाडिसकेका छन्‌ । ती नागरिक करिब २६५ किलोमिटर लामो जोखिमपूर्ण ड्यारियन ग्यापको बाटो दक्षिण अमेरिकाबाट मध्य अमेरिका र मेक्सिको हुँदै संयुक्त राज्य अमेरिका पुग्ने प्रयासमा थिए/छन्‌ ।

भेनेजुएलाको त्यो वैभव- यो हालत, २५% ले देश त्याग्दै !

ड्यारियन ग्याप भएर अमेरिका जानु ज्यादै जोखिमपूर्ण मानिन्छ, किनभने यो बाटोमा घना जंगल छ । जंगली जनावरको डर उत्तिकै छ भने विभिन्न किसिमका खोलानाला पार गर्नुपर्छ । जोखिम यत्तिमै समाप्त हुँदैन । आप्रवासीलाई लुट्न आपराधिक गिरोहहरू जंगलमा नै बसिरहेका हुन्छन् । भाग्यवश उनीहरू लुटिएनन् भने पनि ती गिरोहले सुरक्षित बाटो देखाइदिने नाममा आप्रवासीहरूबाट पैसा भने असुलेरै छाड्छन । 

आप्रवासीहरूको आगमन यति ठूलो छ कि पनामाले देशका विभिन्न भागमा आप्रवासीहरूको लागि सहायता केन्द्रहरू स्थापना गरेको छ ।

प्रतिक्रिया दिनुहोस