
इटहरी । दशैंको टिकाको दिन मंगलबार सबैजना टिका लगाउने र आशीर्वाद लिने ध्याउन्नमा व्यस्त भए । तर सुनसरीको इटहरी १७ स्थित पकलीको एउटा परिवारमा दर्दनाक घटना घटेको छ । आफ्नै श्रीमती र ६ वर्षिया कलिली छोरी मारेर एक जना व्यक्ति झुण्डिएका छन् ।दशैंको टिकाकै दिन घरभित्रै एकै परिवारका तीन जनाको लास भेटिएको छ । राकेश शर्मा झुण्डिएको अवस्थामा फेला परेका छन् भने उनकी श्रीमती पुनमको लास टिनको बाकसभित्र भेटिएको छ । यस्तै छोरी स्वस्तीकाको लास बोराभित्र पाइएको छ ।
श्रीमती र छोरीसहित घरमा बस्दै आएका श्रीमान राकेश झुण्डिएको अवस्थामा उनकै १२ वर्षिय छोराले देखेका थिए । नजिकै रहेको हजुरबुवाको घरमा बस्दै आएका उनी दशैंको टिका लगाउन बुवालाई बोलाउन आएका थिए । झ्यालबाट हेर्दा बुवा झुण्डिरहेको भेटेपछि उनलाई तत्कालै धरानस्थिन वीपी प्रतिष्ठान पुर्याइएको थियो ।त्यहाँ अस्पतालले मृत घोषित गरिदिएपछि घरमा ल्याएर टिनको बाकस खोलेर हेर्दा श्रीमती पुनमको लास भेटिएको थियो भने छेउमै बोरामा बाँधेको अवस्थामा ६ वर्षिया छोरी स्वस्तीकाको लास भेटिएको सुनसरीका एसपी यज्ञविनोद पोख्रेलले बताए ।
श्रीमती पुनमको टाउकोमा धारिलो हतियारले प्रहार गरेर र छोरी स्वस्तीकाको मुन्टो बटारेर मारेको हुनसक्ने अनुमान गरिएको छ ।लामो समयदेखि राकेश र पुनमबिच घरायसी विवाद थियो । घटनाको बारेमा अनुसन्धान भइरहेको एसपी पोख्रेलले बताए ।
प्रतिक्रिया दिनुहोस