
काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०८० साउन र भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.१९ प्रतिशत रहेको उल्लेख गरेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.६४ प्रतिशत रहेको थियो ।
केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.७४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.९९ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४५.४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १७.८६ प्रतिशत, तरकारीको १४.५१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.३८ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १२.६० प्रतिशत र रेस्टुरेन्ट तथा होटलको १०.९७ प्रतिशतले बढेको छ ।
समीक्षा महिनामा घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १३.०८ प्रतिशतले घटेको छ । साथै, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५.५५ प्रतिशत, विविध वस्तु तथा सेवाहरूको १२.२१ प्रतिशत, शिक्षाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ८.११ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरूको ६.५९ प्रतिशतले बढेको छ । समीक्षा महिनामा यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ०.१८ प्रतिशतले घटेको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ९.८३ प्रतिशत, तराईको ७.०३ प्रतिशत, पहाडको ८.०९ प्रतिशत र हिमालको११.३२ प्रतिशत रहेको छ । २०७९ भदौ महिनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः ७.६२ प्रतिशत, ९.३३ प्रतिशत, ८.८२ प्रतिशत र ६.६८ प्रतिशत रहेको थियो ।
थोक मुद्रास्फीति तर्फ २०८० भदौ महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.७८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १४.०० प्रतिशत रहेको थियो । दुई महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ८.२३ प्रतिशत, ३.१४ प्रतिशत र २.८० प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति ०.०३ प्रतिशतले घटेको छ ।
उता तलब तथा ज्यालादर सूचकाङ्क हेर्दा २०८० साउन- भदौ महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ५.२५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो सूचकाङ्क ११.६८ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १.०५ प्रतिशत र ६.५३ प्रतिशतले बढेको छ ।
नेपाल र भारतको उपभोक्ता मुद्रास्फीतिको तुलना गर्दा २०८० साउन र भदौ महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.१९ प्रतिशत रहेको छ । सन् २०२३ सेप्टेम्बर महिनामा भारतको यस्तो मुद्रास्फीति ५.०२ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस