
काठमाडौँ । यसपालीको मनसुनका समयमा देशभर विपदजन्य घटनाबाट ९२ जनाको मृत्यु भएको छ । ती घटनामा परेर ३० जना बेपत्ता भएका छन् भने १६८ घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुव खड्काले दिएको जानकारी अनुसार मनसुन अवधिमा सबैभन्दा बढी पहिरोका घटना भएको छ ।
प्राधिकरणले आज सिंहदरबारमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा उनले मनसुनका समयमा पहिरोका चार सय ५९, बाढीका १४२, भारी वर्षाका १६८ र चट्याङका १२३ घटना भएको जानकारी दिए ।
यसपटक १३ दिन ढिला गरी मनसुन यही असोज २८ मा बाहिरिएको थियो भने एक दिन ढिला गरी गत जेठ ३१ मा भित्रिएको थियो । भित्रिँदा पनि नौ दिन ढिला गरी असार ८ गते देशभर फैलिएको थियो ।
यसवर्ष मनसुन १२४ दिन रहेको थियो । यसपटक मनसुनमा पूर्वानुमान गरेअनुसार नै कम वर्षा भए पनि ठाउँ-ठाउँमा ठूलो क्षति हुनेगरी भारी वर्षासँगै बाढीपहिरो आएको थियो ।
प्रतिक्रिया दिनुहोस