_20231017210754.jpg)
विगत दस वर्षदेखि चीनले अघि सारेको सबैभन्दा महत्त्वाकाङ्क्षी पूर्वाधार परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) ले ग्लोबल साउथलाई पश्चिमा विकासको विकल्प दिइरहेको छ। त्यसकै लागि कार्य योजनाहरू तयार गर्न डिजाइन गरिएको अन्तर्राष्ट्रिय राजनीतिक र आर्थिक बैठक बेल्ट एन्ड रोड फोरमको नयाँ संस्करणको लागि अहिले १४० भन्दा बढी देशका प्रतिनिधिहरू एक हप्ताको लागि बेइजिङमा भेला भएका छन्।
निस्सन्देह यो चीनले आयोजना गरेको वर्षकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय कार्यक्रम हो जुन बीआरआई स्थापनाको दशौँ वार्षिकोत्सवको समेत अवसर पारेर आयोजना गरिएको छ । यस विश्वव्यापी पूर्वाधार परियोजनाको घोषणा भएको एक दशक पुरा हुँदा यसको अविश्वसनीय भूराजनीतिक प्रभावहरू देखा परेका छन् । त्यसैले अहिलेको यो सम्मेलन आधारभूत स्तरमा यसको प्रभाव मूल्याङ्कन गर्नका लागि समेत महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
रणनीतिक हिसाबले चीनको बीआरआई निकै नै प्रतिभाशाली छ। यसको सबैभन्दा राम्रो रणनीतिक उपयोग युरेसिया क्षेत्रमा भएको देखिन्छ । त्यहाँ भूमिमा आधारित यस्ता मार्गहरू यस अन्तर्गत विकाश भएका छन् कि त्यसबाट चीनको आर्थिक वृद्धिका लागि सहयोगी एउटा चिरस्थायी सञ्जाल निर्माण भएको छ । त्यसले अमेरिकाको एक ध्रुवीय प्रभुत्व लगभग अन्त्य गरिदिएको छ र अहिले अमेरिका घुँडा टेक्ने अवस्थामा आइपुगेको छ । त्यसो त, यसको अर्को उल्लेखनीय पाटो के पनि छ भने बीआरआई अमेरिकी ‘इन्डो प्यासिफिक स्ट्राट्रेजी’ (आइपीएस) झैँ सैन्य पूर्वाधार परियोजना हो भन्ने कुनै पनि हिसाबले सङ्केत देखिएको छैन । तथापि यसले बहु ध्रुवीय विश्वतर्फ ठूलो भूराजनीतिक झुकावलाई भने प्रदर्शित गर्दछ।
हालै विश्व बैंकको तथ्याङ्कलाई उद्धृत गर्दै चिनियाँ विदेश मन्त्रालयले बिआरआईले सहभागी राष्ट्रहरूका लागि औसत ४.१ प्रतिशतले व्यापार वृद्धि गरेको, ५ प्रतिशत बढी प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गरेको, न्यून आय भएका देशहरूका लागि ३.४ प्रतिशतले बढी जिडिपी सिर्जना गरेको उल्लेख गरेको छ । सन् २०१२ देखि २०२१ सम्म उदीयमान र विकासशील अर्थतन्त्रहरूको जिडिपी अंशमा ३.६ प्रतिशतको बढोत्तरी यसका कारण भएको उल्लेख गरिएको छ। सन् २०३० सम्ममा बीआरआईले सम्ममा प्रत्येक वर्ष १.६ खर्ब डलरको राजस्व सिर्जना गर्ने अनुमान गरिएको छ। यो विश्वको लागि अझ विशेष गरी ग्लोबल साउथको लागि एकदमै अविश्वसनीय वरदान साबित हुनेछ।
बिआरआईले सन् २०१५ देखि २०३० सम्ममा ४ करोड मानिसलाई गरिबीबाट बाहिर निस्कन मद्दत गर्ने विश्व बैंकले उल्लेख प्रक्षेपण गरेको छ। सन् २०२२ को अन्त्यसम्ममा यस परियोजनामार्फत चिनियाँ लगानीले ४ लाख २१ हजार स्थानीय रोजगारी सिर्जना गरेको छ र ३ हजार भन्दा बढी परियोजनाहरू सफलतापूर्वक कार्यान्वयन गरेको छ। यी धेरैजसो परियोजनाहरू विश्वव्यापी व्यापारलाई आपसमा जोड्ने र मानिसहरूको जीवनको गुणस्तरसँग सम्बन्धित व्यावहारिक समस्याहरू समाधान गर्ने उद्देश्यका सञ्चालित छन्।
चीनले विगत चार दशकहरूमा आफ्नै मुलुकमा ८० करोडभन्दा बढी मानिसहरूलाई गरिबीबाट बाहिर निकालेको छ। यसले सन् २०२१ मा गरिबीविरुद्धको विजयको घोषणा गरेको छ र अहिले विश्वभर अरूलाई सहयोग गरिरहेको छ। बीआरआईको अतिरिक्त, चीनले हालसालै आफ्नो ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जिडीआई) पनि यस्तै उद्देश्य पूरा गर्न सुरु गरेको छ। यद्यपि यो इनिसिएटिभले दिगो र पारस्परिक रूपमा लाभदायक परियोजनाहरूमा बढी ध्यान केन्द्रित गर्नेछ।
अझै पनि बीआरआई विवादमा भने छ । अधिकांश पश्चिमी अधिकारीहरू र चीन विरोधी पण्डितहरूद्वारा फैलाइएका भ्रमका कारण यो परियोजना प्रति मानिसहरूको बुझाइमा भने समस्या देखिन्छ। यसलाई प्राय: "ऋणको पासो" भन्ने गरिएको छ । तर, यो सरासर झुट हो किनभने यदि न्यून-मध्यम आय भएका देशहरूको ऋणको अनुपातलाई हेर्ने हो भने ती मुलुकहरू विश्व बैंक, आईएमएफवा यस्तै कुनै ऋणले थिचिएको र त्यसको जालोमा फसेको नै देख्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस