
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मुस्ताङ पुगेका हुन् । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सहभागी हुन उनी मुस्ताङ पुगेका हुन् ।
नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान जोमसोम आएका प्रधानमन्त्री दाहाल कोरलानाका, गत साउनको बाढीले क्षति पुगेको कागबेनीलगायत क्षेत्रको अनुुगमनमा पुगेका मुुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । प्रधानमन्त्री दाहालले मुस्ताङ भ्रमणका क्रममा कोरलानाका र गत साउनको बाढीले क्षति पुगेको कागबेनीको हवाई निरीक्षण गर्ने कार्यक्रम छ । उनले हालै गरेका चीन भ्रमणका क्रममा मुस्ताङको कोरलालगायत १४ वटा व्यापारिक नाका सञ्चालन गर्ने सहमति भएको थियो ।
चार वर्षदेखि बन्द रहेको कोरलानाका सञ्चालनका लागि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका एक हजार जनाभन्दा बढी सर्वसाधारणलाई चीन प्रवेशका लागि अनुमतिपत्र वितरण गरिएको छ । प्रधानमन्त्री दाहालसमक्ष स्थानीयवासीले कालीगण्डकी नदीको कटान, उपल्लो मुुस्ताङको पाँचवटा गाउँलाई अर्धनिषेधित क्षेत्रबाट हटाउन र जग्गासम्बन्धी समस्याबारे छलफल गर्ने कार्यक्रम तय भएको नेकपा माओवादी केन्द्र मुस्ताङका इन्चार्ज कपिल लामाले बताए ।
प्रधानमन्त्री दाहालसँगै वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतो, गण्डकी प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री सुशीला सिंखडा, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली, प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललगायत पुगेका हुन् । जलवायु परिवर्तनसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सहभागी भएपछि प्रधानमन्त्री दाहालले आजै जोमसोममा ‘जनतासँग माओवादी रुपान्तरण अभियान’अन्तर्गत आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस