aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

चीनले बीआरआईमा थप १ नील ३२ खर्ब लगानी गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ कार्तिक २०८०
चीनले बीआरआईमा थप १ नील ३२ खर्ब लगानी गर्ने

एजेन्सी । चीनले आफ्नो बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा एक सय अर्ब अमेरिकी डलर (करिब १ नील ३२ खर्ब रुपैयाँ) भन्दा बढी थप लगानी गर्ने भएको छ । लगानी आकारका हिसाबले बीआरआई विश्वकै ठूलो परियोजना हुनेछ ।

बीआरआईको १०औँ वार्षिकोत्सवका अवसरमा आयोजित शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सि जिनपिङले उक्त घोषणा गरेका हुन्‌ । बीआरआई विदेशमा चीनको प्रभाव विस्तार गर्ने राष्ट्रपति सिको केन्द्रीय स्तम्भ हो, जसमा बेइजिङले विश्वभर २० खर्ब अमेरिकी डलरभन्दा बढीको सम्झौता गरेको बताएको छ ।

ग्लोबल साउथमा संसाधन र आर्थिक विकास ल्याउनका लागि समर्थकहरूले यसको सराहना गरेका छन् । तर गरिब मुलुकहरूमा यसले ऋणको भारी बोकाउने भन्दै यसको आलोचना पनि हुँदै आएको छ । बीआरआईको प्रमुख ऋणदाता चाइना डेभलपमेन्ट बैंक र एक्स्पोर्ट–इम्पोर्ट बैंकले अतिरिक्त एक सय अर्ब डलर ऋण प्रस्ताव गर्ने राष्ट्रपति सिले बुधबार घोषणा गरे ।

उनले दुवै बैंकले बीआरआई परियोजनाहरूका लागि तीन खर्ब ५० अर्ब युआन (४७ अर्ब ९० करोड अमेरिकी डलर) को वित्तीय अवसर स्थापित गर्ने बताए । उनका अनुसार परियोजनाको आधिकारिक ऋण संस्था सिल्क रोड फन्डमा अर्को ८० अर्ब युआन लगानी गरिने छ ।

सन् २०१३ मा बीआरआई सुरु भएयता बेइजिङले आयोजना गरेको आफ्नो किसिमको यो तेस्रो ठूलो शिखर सम्मेलन हो । सम्मेलनमा एक सय ३० मुलुकका प्रतिनिधि सहभागी भएका छन्‌ ।

प्रतिक्रिया दिनुहोस