aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मुस्ताङबासीले भने : ‘जलवायु परिवर्तनले स्याउमा किरा लाग्यो’, प्रधानमन्त्रीको भाषण : ‘अन्तरराष्ट्रिय समस्या हो’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ कार्तिक २०८०
मुस्ताङबासीले भने : ‘जलवायु परिवर्तनले स्याउमा किरा लाग्यो’, प्रधानमन्त्रीको भाषण : ‘अन्तरराष्ट्रिय समस्या हो’

मुस्ताङ । जलवायु संवाद कार्यक्रममा सहभागी हुन मुस्ताङको जोमसोम पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मुस्ताङबासीले जलवायु परिवर्तनका कारण स्याउ लगायत खेतीमा किरा लागेकाले रोकथाम गर्ने कार्यक्रम ल्याइदिन आग्रह गरेका छन्‌ । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले चाहिँ जलवायु परिवर्तन अन्तरराष्ट्रिय समस्या भएको भन्दै किसानका समस्यामाथि नजरअन्दाज गरिदिएका छन्‌ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जोमसोममा आज (बुधबार) जलवायु संवाद कार्यक्रम आयोजना गरेको हो । सो कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री दाहाल बिहानै मुस्ताङतर्फ लागेका थिए । 

दाहालसमक्ष मुस्ताङवासीले जलवायु परिवर्तनको असरबाट  हुने क्षति न्यूनीकरणका लागि नयाँ कार्यक्रम सञ्चालन गरिदिन माग राखेका हुन्‌ । स्थानीय चन्द्रबहादुर थकालीले जलवायु परिवर्तनका कारण मुस्ताङमा मानवीय र भौतिक क्षति बढेकाले न्यूनीकरणका लागि प्रधानमन्त्रीसँग आग्रह गरेको बताए ।

‘जलवायु परिवर्तनको असर हाम्रो जिल्लामा सबैभन्दा बढी परेको छ,’ थकालीले भने, ‘यहाँको तापक्रम बढ्दै गएको छ । हिमालमा हिउँ पग्लदै गएको छ । यसका कारण उपल्लो मुस्ताङका मानिस विस्थापित पनि भएका छन् ।’ जलवायु परिवर्तनका कारण जिल्लामा उत्पादन हुने स्याउलगायत अन्य बालीमा रोग कीराको समस्या बढिरहेको पनि उनले बताए । 

पछिल्ला वर्षमा पुस माघमा हिउँ पर्न छाडेको छ । फागुन चैतमा हिउँ र पानीसमेत पर्दा मुस्ताङको स्याउ खेतीमा असर परेको छ । उपल्लो मुस्ताङमा घर पालुवा जनावर पनि फस्टाउन छाडेको छ । जलवायु परिवर्तनको असरका कारण जिल्लामा वर्र्षासँगै बेमौसमी हिमपात हुने गरेको छ । 

बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजिन जामगेल गुरुङले भने, ‘गतवर्ष असोज १७ देखि लगातार सात दिनसम्म वर्षा हुँदा धेरै क्षति पुगेको थियो,’ उहाँले भन्नुभयो, ‘यसवर्ष पनि गत साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा ठूलो क्षति पुर्‍याएको छ । त्यसैले जलवायु परिवर्तनबाट हुने क्षति न्यूनीकरणका लागि संघीय सरकारले ध्यान दिन जरुरी छ ।’

प्रधानमन्त्री दाहालले चाहिँ जलवायु परिवर्तन अन्तर्राष्ट्रिय चुनौती बनेको बताए । ‘जलवायु परिवर्तन हाम्रो राष्ट्रिय समस्या र चुनौती त हुँदै हो, सँगै यो अन्तर्राष्ट्रिय चुनौती पनि हो, विश्वकै समस्या हो’, दाहालले भने, ‘जलवायु परिर्वतनको जोखिम न्यूनीकरणमा अन्तर्राष्ट्रियजगत्ले पर्याप्त लगानी र पहल नलिने हो भने विश्वले गम्भीर मानवीय र प्राकृतिक विपद्को सामना गर्नुपर्ने स्थिति आउँछ ।’

उनले विपद्‌को आंकलन गरे पनि सरकारले मुस्ताङ क्षेत्रमा जलवायु अनुकूलनका के कस्ता प्रभावकारी कार्यक्रम ल्याउँछ भन्ने चाहिँ खुलाएनन्‌ । त्यसको साटो उनले आफू गम्भीर रहेको देखाउन थपे, ‘संयुक्त राष्ट्रसङ्घको हालै सम्पन्न महासभालगायत अन्तर्राष्ट्रिय मञ्चहरुमा जलवायु परिवर्तनले नेपालमा पुर्‍याएको क्षति र सम्भावित जोखिमबारे गम्भीरताका साथ विषय उठाइएको छ । नेपालले झेलिरहेको जलवायु परिवर्तनको समस्याबारे विश्व समुदायको ध्यानाकर्षण भएको छ ।’

मुस्ताङबासीले स्याउमा किरा नियन्त्रणका कार्यक्रम मागिरहँदा दाहालले भने,‘आउँदो महिना हुने २८औँ विश्व जलवायु सम्मेलनमा पनि म आफैँ नेपालको प्रतिनिधित्व गरेर जाँदैछु, त्यहाँ पनि गम्भीरताका साथ यो विषय राख्नेछु ।’ उनले पछिल्लो समय मुस्ताङलगायत हिमाली क्षेत्रमा जलवायु परिवर्तनबाट पुगेको क्षति र जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग भित्र्याउन पहल गर्ने बताए। जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने विदेशी दातृ निकायबाट प्राप्त हुने रु ५० करोड मुस्ताङमा खर्च गरिने उनले आश्वासन दिए ।

मुस्ताङमा दाहालले बाढीबाट क्षति पुगेको कागबेनी, मुक्तिनाथ, उपल्लो मुस्ताङको लोमान्थाङलगायत क्षेत्रको हवाई अवलोकन गरेका छन्‌ ।

प्रतिक्रिया दिनुहोस