aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

अब ब्रोकरको कमिसन कति हुने भयो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ कार्तिक २०८०
अब ब्रोकरको कमिसन कति हुने भयो ?

काठमाडौं ।  नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय गरेको छ । बुधबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले ब्रोकर कमिसन १० प्रतिशतले घटाउने निर्णय गरेको हो ।

बोर्डको यो निर्णय अर्थ मन्त्रालयको स्वीकृतिपछि कार्यान्वयनमा आउनेछ । धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठको संयोजकत्वमा बनेको अध्ययन समितिले ब्रोकर कमिसन १० प्रतिशतले घटाउने प्रस्ताव गरेको थियो । सोही समितिको प्रस्तावअनुसार बोर्ड सञ्चालक समितिले निर्णय गरेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाउने भएको छ ।

संशोधित नयाँ कमिसनअनुसार हाल सेयर कारोबारमा रहेको अधिकतम ०।४० प्रतिशतको माथिल्लो सीमा ०.३६ प्रतिशत पुग्नेछ । यस्तै, ०.२७ प्रतिशत रहेको तल्लो सीमालाई घटाएर ०.२४३ प्रतिशत कायम गर्ने निर्णय भएको बोर्ड स्रोतले जनाएको छ ।

बोर्डले ब्रोकरमार्फत आफूले पाउने शुल्कसमेत १० प्रतिशत बिन्दुले घटाएको स्रोतको भनाइ छ । हाल बोर्डले ब्रोकरले दिएको सेवा शुल्कमा ०.६ प्रतिशत नियमन शुल्कबापत ब्रोकर कम्पनीबाट प्राप्त गर्दै आएकोमा अब ब्रोकरबाट नियमन शुल्कबापत ०.५४ प्रतिशत लिने निर्णय भएको बोर्ड स्रोतले बतायो ।

धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले ब्रोकर कमिसन घटाउन प्रस्ताव गरेसँगै बोर्डको कमिसन घटाउन प्रस्ताव पनि लैजाने बताउँदै आएका थिए । सोहीअनुसार उनले ब्रोकर कमिसनसँगै धितोपत्र बोर्डको कमिसन पनि घटाउने प्रस्ताव सञ्चालक समितिबाट पारित गराएका हुन् ।

बोर्डले लगानीकर्ताले गर्ने कारोबारबापत नेप्सेले प्राप्त गर्ने शुल्कबापत आफूले प्राप्त गर्ने कमिसनसमेत घटाएको छ । उक्त शुल्क ७ प्रतिशत बिन्दुले घटाएको छ । हाल लगानीकर्ताले गर्ने कारोबार रकमको ०.०१५ प्रतिशत कमिसन बोर्डले प्राप्त गर्दै आएको छ । अब भने बोर्डले ०.०१४ प्रतिशत कमिसन प्राप्त गर्नेछ ।

यसअघि बोर्डले २०७७ पुस १० गते ब्रोकर कमिसन घटाएर माथिल्लो सीमा ०.४० प्रतिशत र तल्लो सीमा ०.२७ प्रतिशत कायम गरेको थियो । हाल ५० हजारसम्मको कारोबारमा लगानीकर्ताले ०.४० प्रतिशत कमिसन लाग्नेमा अब ०.३६ प्रतिशत लाग्ने भएको छ । यस्तै, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत रहेको कमिसन घटेर ०.३३ प्रतिशत कायम भएको छ ।

स्रोतका अनुसार ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत कमिसन रहेकोमा अब ०.३०६ प्रतिशत कायम हुनेछ । २० लाखदेखि एक करोड रूपैयाँसम्ममा ०.३० प्रतिशत रहेको ब्रोकर कमिसन अब ०.२७ प्रतिशत र एक करोडमाथि ०.२७ प्रतिशत रहेको कमिसन अब ०.२४३ प्रतिशत हुनेछ ।

सेयर बजार घट्नुमा ब्रोकर कमिसनको पनि कारण रहेको भन्दै ब्रोकर तथा लगानीकर्ताहरूले समेत शुल्क कम गर्नुपर्ने बताउँदै आएका थिए । उनीहरूले ब्रोकर कमिसन घटेमा बजार थप उचाइमा पुग्न सहयोग पुग्ने बताएका थिए । कारोबार

प्रतिक्रिया दिनुहोस