aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

ट्राफिक प्रहरीको चाडपर्व लक्षित चेकिङ, लापसेमा ४ जना नियन्त्रणमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ कार्तिक २०८०
ट्राफिक प्रहरीको चाडपर्व लक्षित चेकिङ, लापसेमा ४ जना नियन्त्रणमा

काठमाडौं । नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली र छठ पर्वलाई मध्यनजर गरी काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा ट्राफिक प्रहरीले विशेष चेकजाँच बढाएको छ । चाडपर्व मनाउन उपत्यका बाहिर जाने यात्रुहरुको सुरक्षा, सहज आवातजावत, सवारी चाप व्यवस्थापन तथा चाडपर्वलाई दुर्घटना रहित बनाउने उद्धेश्यले उपत्यकाका विभिन्न स्थान तथा नाकाहरुमा मापसे, लापसे लगायतका अन्य विशेष चेकिङ बढाएको हो । 

चाडपर्वको मौका छोपि सवारी साधनको क्षमता भन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने, टिकटमा कालो बजारी गर्ने र यात्रुलाई गन्तव्यमा नपुर्‍याई बाटोमै अलपत्र पार्ने जस्ता कार्यको अनुगमनको लागि सादा पोषाकमा समेत ट्राफिक प्रहरी परिचाल गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए । त्यस्तै, काठमाडौँ उपत्यकाको १६ स्थानमा राखिएका यात्रु सहायता कक्ष मार्फत यात्रुलाई परेका विभिन्न समस्याको समाधान समेत गरिदै आएको पनि प्रवक्ता भट्टले जानकारी दिए।

विशेष चेकिङकै क्रममा काठमाडौँको नागढुंगा नाकाबाट बिहीबार लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका  ४ जना चालकलाई  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

ना ७ ख ५३२ नम्बरका ट्रक चालक धादिङको थाक्रे गाउँपालिका २ का २९ वर्षीय राम कुमार सुवेदी, बा ४ ख ५७ ४८ नम्बरका बस चालक काठमाडौँको तार्केश्‍वर नगरपालिका १ का २६ वर्षीय दिपेश सापकोटा, प्रदेश ३ ०१ ००६ ख २५ ४६ नम्बरका ट्रक चालक काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका ९ का ३१ वर्षीय राम कुमार गौतम र ना ६ ख ९६ ९३ नम्बरका बस चालक कैलालीको धनगढी उपमहानगरपालिका १ बस्ने ४४ वर्षीय दिप श्रेष्ठलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका ‍चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त  थानकोट पठाइएको छ ।  
 

प्रतिक्रिया दिनुहोस