aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

डब्ल्यूएचओले इजरायललाई भन्यो : ‘गाजापट्टीमा इन्धन आपूर्ति नरोक’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ कार्तिक २०८०
डब्ल्यूएचओले इजरायललाई भन्यो : ‘गाजापट्टीमा इन्धन आपूर्ति नरोक’

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले इजरायललाई गाजा पट्टीमा इन्धन लैजान अनुमति दिन आग्रह गरेका छन्‌ । इजरायलको सहमतिपछि आक्रमणबाट प्रभावित क्षेत्रमा बिहीबार पानी, खाना र औषधिको पहिलो आपूर्ति गरिएको छ ।

‘इजिप्टबाट गाजामा पानी, खाद्यान्न र औषधि प्रवेशमा रोक नलगाउने इजरायलको घोषणालाई हामी स्वागत गर्दछौं । अस्पतालका जेनेरेटर, एम्बुलेन्स र डिसेलिनेसन प्लान्टका लागि पनि इन्धन आवश्यक छ र हामी इजरायललाई गाजाप्रवेशका लागि अनुमति दिइएको जीवनरक्षक आपूर्तिमा इन्धन थप्न आग्रह गर्दछौं,’ टेड्रोसले पत्रकार सम्मेलनमा भने ।

इजरायलले इजिप्ट हुँदै गाजामा सहायता प्रवेश गर्न दिने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले बुधबार जानकारी गराएको थियो । प्रधानमन्त्री कार्यालयका अनुसार अवरुद्ध प्यालेस्टिनी इलाकामा ‘खाद्यान्न, पानी र औषधि’ मात्र प्रवेश गर्न दिइने छ ।

‘अमेरिकी राष्ट्रपति जो बाइडेनको आग्रहलाई ध्यानमा राख्दै इजरायलले इजिप्टमार्फत मानवीय सहायता आपूर्तिमा अवरोध गर्ने छैन,’ प्रधानमन्त्री कार्यालयले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै भनेको छ ।

वक्तव्यमा भनिएको छ, ‘गाजामा शासन गर्ने हमाससम्म सहायता सामग्रीहरू नपुग्ने शर्तमा दक्षिणी गाजा पट्टीका नागरिकहरूलाई सहायता प्रदान गर्न अनुमति दिइनेछ ।’

प्रतिक्रिया दिनुहोस