एजेन्सी । क्यानडाले भारतबाट आफ्ना ४१ कूटनीतिज्ञलाई फिर्ता बोलाएको छ । शिख नेता हरदीप सिंह निज्जरको हत्यामा भारतको संलग्नता देखिएको क्यानडाले बताएपछि भारत र क्यानडाबीच जुनदेखि नै सम्बन्ध चिसिएको छ । क्यानडामा रहेका निज्जरको हत्या जुन १८ मा भएको थियो ।
भारत सरकारले क्यानडाका केही कूटनीतिज्ञलाई सुरक्षा दिन नसक्ने बताएपछि क्यानडाले एकैसाथ ४८ कूटनीतिज्ञलाई स्वदेश फिर्ता बोलाएको हो । क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले भारतले २१ कूटनीतिज्ञ बाहेक अन्य सबैलाई दिएको सुरक्षा फिर्ता लिने बताएपछि यस्तो निर्णय लिएको बताएकी छिन् ।
आफ्ना ४१ कूटनीतिज्ञ र उनीहरूको परिवारका ४२ सदस्यको कूटनीतिक सुरक्षा अन्त्य हुँदा सुरक्षा खतरा निम्तिन सक्ने क्यानडाले जनाएको छ । विदेशमन्त्री जोलीले भारतको यस्तो कदमका कारण क्यानडामा रहेको भारतीय दूतावासमा काम गरिरहेका कूटनीतिज्ञहरूलाई समेत असर पर्नसक्ने चेतावनी दिएकी छिन् ।
भारतले आफ्ना कूटनीतिज्ञको सुरक्षा हटाए पनि दुबै मुलुकमा रहेका दूतावासको कामकाजमा असर नपर्ने क्यानडाले बताएको छ । तर चण्डीगढ, मुम्बई र बैंगलोरमा रहेका क्यानडाका कन्सुलेटमा केही सेवा स्थगित भएको छ ।
प्रतिक्रिया दिनुहोस