
आज नवरात्रीको सातौँ दिन, सप्तमी । अर्थात्, सांस्कृतिक शब्दमा फूलपाती । यो तिथिको विशेष महत्त्व छ । सप्तमी तिथिको दिन दसैँका लागि पूजा सामग्री स्वरूप फूलपाती आगमनमा प्रवेश गराउने गरिन्छ । फूलपातीको प्रचलन र महत्वबारे केही कथन प्रचलित छन् । घटस्थापनाको दिनदेखि नै दसैँ सुरु भए पनि दसैँको रौनक भने आज अर्थात् फूलपातीदेखि मात्र सुरु हुन्छ ।
घर/घरमा फूलपाती भित्र्याएपछि दसैँको रौनक सुरु हुन्छ । शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक मानेर फूलपाती भित्र्याइने गरिन्छ । केरा, दारिम, धान, हलेदो, माने, कर्चुरा, बेल, अशोक र जयन्ती जस्ता नौ प्रकारका पातहरूलाई पुजेर प्रत्येक नौका दरले दुर्गा पूजा गरेको स्थानमा भित्र्याइने प्रचलन छ । यी नौ पातमा ब्रम्हाणी, रक्चचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरेर सोह्र सामग्रीले पुजिन्छ ।
यस दिन गोरखा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती राजधानी ल्याएर बढाइँसाथ हनुमान ढोका भित्र्याइन्छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म दशैंघरका पुजारीसहित मगर जातिका ६ जनाले ल्याउने चलन छ । त्यसपछि धादिङ जिल्लाको जीवनपुरदेखि काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा छ ।
भनिन्छ, टुक्रे राज्यको रुपमा रहेको नेपाल एकीकरणपछि गोरखाबाट उठाइएको फूलपाती मुलुकका विभिन्न शक्तिपीठहरुमा पुर्याउने गरिन्थ्यो । काठमाडौँको हनुमानढोकाको तलेजु भवानीको मन्दिरमा रहेको दशैंघरमा गोरखाबाट ल्याइएको फूलपाती धादिङ जिल्लाको जीवनपुर हुँदै भित्र्याइने चलन त्यो बेला देखी नै सुरु भएको हो।
यस्तो छ दसैँको महत्त्व
दसैँ केवल रमाइलो गर्ने पर्व मात्र होइन । यसका अनेक विशेषता र महत्त्व छन् । सामाजिक महत्त्व छन् । जसले समाजलाई एक सूत्रमा जोड्छ । धार्मिक महत्त्व छ, जसले शक्ति र सत्यको जीत हुन्छ भन्ने सन्देश दिन्छ । आर्थिक महत्त्व छ, जसले लत्ताकपडादेखि खाद्यान्नसम्मको बजार उत्कर्षमा पुर्याउँछ । भावनात्मक महत्त्व छ, जसले टाढा÷टाढा रहेका आफन्तलाई एकै थलोमा ल्याइपुर्याउँछ । दसैँ, सद्भावको पर्व हो । एकताको पर्व हो । समग्रमा यो हाम्रो जीवन पद्धतिको एउटा हिस्सा हो ।
घटस्थापनादेखि दसैँको विधिवत् सुरुवात हुन्छ । घटस्थापनाको दसौँ दिनमा टिका । अर्थात् आफन्त, गन्यमान्यबाट टीका थाप्ने दिन । यसलाई विजय दशमी भनिन्छ । यो एउटा विजयको उल्लास पनि हो । असत्यमाथि सत्यको विजय ।
दसैँ सुरुभएदेखि हरेक दिनको आ—आफ्नै महत्त्व र अर्थ छ । यो धार्मिक परम्परासँग मात्र जोडिएको छैन । हाम्रो जीवन पद्धतिलाई सुखदायी, प्रेममय बनाउने सूत्र पनि छ यसमा । दश÷संस्कृतिले हामीलाई समाजसँग एकाकार भएर हाँस्न र बाँच्न प्रेरित गर्छ, संयमित र सन्तुलित जीवन ।
प्रतिक्रिया दिनुहोस