aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आज महानवमी, सिद्धिदात्रीको पूजा तथा आराधना गरिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ कार्तिक २०८०
आज महानवमी, सिद्धिदात्रीको पूजा तथा आराधना गरिँदै

काठमाडौं । आज आश्विन शुक्ल नवमी । महानवमी दिन । आज नवदुर्गामध्ये सिद्धिदात्रीको आह्वान गरी यो पर्व मनाइदैछ । महानवमीमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपिठमा लगेर चढाइन्छ ।  

आजैका दिन हनुमान ढोकामा रहेको दसैंघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्ति पीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्भागवत एवम् देवी स्तोत्र पाठ गरिन्छ ।

पशु बलि नदिनेहरूले भने आज आ–आफ्नो कुल परम्परा अनुसार जटा नरिवल,  कुभिण्डो, घिरौँला, मूला, काँक्रो बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ । 

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसको वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ मनाइन्छ । आजैका दिन कतिपय शक्तिपिठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्च बलि दिने गरिन्छ ।

महानवमीका अवसरमा कोतहरूमा हर्ष बढाइ गर्नुका साथै कोत पूजा र निसान पूजा पनि गरिन्छ । यस अवसरमा हनुमान ढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जंगी निसाना पूजा र कोत पूजा गर्ने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस