aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

यसरी तयार गर्नुस् दशैँमा स्वादिष्ट मासुका परिकार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ कार्तिक २०८०
यसरी तयार गर्नुस् दशैँमा स्वादिष्ट मासुका परिकार

काठमाडौं । दशैंमा अधिकांश परिवारमा खसी बोका काट्ने गरे पनि कुखुरा, च्याङ्ग्रा, माछा अष्ट्रिजलगायतको मासुका परिकार बन्ने गरेको छ । मानिसलाई अलग–अलग स्वाद मन पर्ने हुन्छ ।

तर, केही स्वाद यस्ता हुन्छन् जो प्राय सबै मांसाहारीले मन पराउँछन् । यहाँ मासुका विभिन्न परिकार बनाउने त्यस्ता टिप्स प्रस्तुत गरिएको छ जस अनुरुप पकाउने हो भने परिकारको असली स्वादको मज्जा लिन सकिन्छ ।   

मटन कवाफ

कतिपयका लागि मटनका परिकार असाध्यै मन पर्छ । अनेकै स्वादमा खान मन परे पनि बनाउने तरिका थाहा नहुँदा त्यसको स्वाद लिँन चाहेर पनि सकिँदैन । आज हामी तपाईँलाई मटनको कवाफ बनाउने विधि प्रस्तुत गर्दै छौँ । यहाँ एक किलो मटनको कवाफ बनाउन के कति मात्रामा चाहिन्छ र त्यो चिज बनाउने तरिका दिइएको छ ।

आवश्यक सामग्री: एक किलो मासु डेढ इन्चको पिस, ४÷५ पिस ल्वाङ, सुकुमेल, इलाइची, दालचिनी, तेजपात, १०० ग्राम तोरीको तेल, १ चम्चा राम्रो घिउ, १०० ग्राम अदुवा, १ चौथाइ चम्चा मरीचको धुलो, २÷२ चम्चा जिरा धनियाँको धुलो, १÷१ चम्चा बेसार, खोर्सानीको धुलो, आधा चम्चा जाइफलको धुलो, स्वाद अनुसार आवश्यक नुन ।

बनाउने तरिका: मासु सफा गरी तेल बेसार र अन्य सबै मसला राखी राम्रो मुछ्नु र बाक्लो भाँडोमा हालेर पकाउनु पर्छ। मासुमा भएको पानी सुकेपछि आगो सानो गरी छोपेर पकाउनु पर्छ ।

त्यो मासु पाकिसकेपछि घिउ राखी चलाएर छोडिदिनु पर्छ । अब कवाफ तयार भयो । यसरी पकाएको मासु फ्रिजमा नराखे पनि ४÷५ दिनसम्म राखेर खान सकिन्छ । तर, चिसो डाडुले चलाउनु हुँदैन । आफूलाई चाहिने मात्र निकाली तताउनुपर्छ । यदि राखेर खाने हो भने प्याज र लसुन पनि हाल्नु हुँदैन, बिग्रन्छ ।

चिकेन चिल्ली

आवश्यक सामग्रीहरुः कुखुराको हड्डी नभएको मासु, काटेको भेडे खुर्सानी, काटेको सुकेको प्याज र हरियो प्याज, हरियो खुर्सानी, गोलभेँडा, मरीचको धुलो, काटेको लसुन, नुन धुलो खुर्सानी, कर्नफ्लोर सोया सस र टोमाटो केचअप । 

बनाउने प्रक्रिया: मासुमा कर्नफ्लोर, धुलो खुर्सानी, मरीच, नुन राखेर मुछ्ने अनि कम्तीमा १५ मिनेटसम्म त्यसै राख्ने । राम्ररी तातेको तेलमा मुछेको मासुलाई राम्ररी फ्राई गर्ने अनि निकाल्ने ।

पुनः भाँडोमा भेडे खुर्सानी, सानो–सानो गरी काटिएको लसुनको टुक्रा,  हरियो खुर्सानी, प्याज, नुन, धुलो खुर्सानी, सोया सस, मरीचको धुलो, टोमाटो सस, हरियो प्याजलाई हल्का फाई गर्ने र अन्त्यमा यसअघि फ्राई गरेको मासु राखेर सबै फ्राई गर्ने । केही बेरपछि गोलभेँडा राखेर चलाउने । अब स्वादिष्ट चिकेन चिल्ली तयार भयो ।

फिस करी

दशैंमा माछा खाँदै हुनुहुन्छ, यसरी बनाउनुस् स्वादिलो हुन्छ । माछालाई विदेशतिर भेजका रूपमा पनि गणना गरिन्छ । तर, नेपाल, भारतलगायतका देशमा भने मासुको विकल्पको रुपमा माछालाई लिने गरिन्छ । त्यसैले यहाँ माछालाई स्वादिलो तरिकाले पकाउने तरिका प्रस्तुत गरेका छौँ ।

आवश्यक सामग्री: माछा, कुखुराको अण्डा, टुक्रा पारेको कागती, नुन, बेसार, लसुन अदुवाको पेस्ट, पानी राखेर पिसेको खुर्सानी, पानी, मैदा, काँचो तोरीको पेस्ट, सेतो तिल, जिराको धुलो, खुर्सानीको धुलो र तेल ।

पकाउने तरिका: माछालाई स्लाइस बनाएर काट्ने, कुखराको अण्डा फुटाउने र त्यसमा एक चम्चा चिलि पेस्ट, आधा चम्चा खुर्सानीको धूलो, जिरा पाउडर, लसुन अदुवाको पेस्ट, बेसार, तिल, नुन, तोरीको पेस्ट, २ चम्चा मैदा, कागतीको रस र पानी राखी राम्ररी मिक्स गर्ने ।

काटेको माछालाई मसलामा केही बेरसम्म डुबाउने । त्यसपछि तातो तेलमा माछालाई राम्ररी पल्टाई–पल्टाई फ्राई गर्ने । फ्राई गरिसकेपछि तेल तैरने पेपर, कपडा वा भाँडोमा उक्त माछालाई राख्ने । यसरी घरैमा स्वादिलो माछा तयार गर्न सकिन्छ ।

अष्ट्रिचको मासु

नेपालमा अष्ट्रिचको मासु नयाँ परिकार हो । नेपालमा अष्ट्रिचको मासुको प्रयोग गर्न थालिएको धेरै भएको छैन । अष्ट्रिचको मासु घरमा ल्याउनु भयो भने कसरी पकाउने ? यसलाई हामीले सामान्य विधिबाट प्रस्तुत गरेका छौँ ।

आवश्यक सामग्री: काटेको अष्ट्रिचको मासु, तेल, काटेको प्याज तथा गोलभेँडा, गरम मसला, अदुवा तथा लसुनको पेस्ट, बेसार, नुन, मिट मसला, खुर्सानीको धूलो र धनियाँको पात ।

पकाउने तरिका: भाँडामा तेल तताउने, काटेको प्याज तेलमा फ्राई गर्ने । साथै गरम मसला पनि राख्ने, अष्ट्रिच मासु राखेर करिब ४ मिनेट जति फ्राई गर्ने । उक्त मासुमा अदुवा, लसुनको पेस्ट तथा बेसार राखी चलाउने, केही बेरपछि गोलभेँडा राखी पकाउने । सुख्खा भएपछि उमालेको पानी राख्ने र केही बेरसम्म पकाउने । यसरी अष्ट्रिचको स्वादिष्ट मासु पकाउन सकिन्छ ।

बफ छोइला   

आवश्यक सामग्री: आगोमा पोलेको बफ ५ सय ग्राम, अदुवा र लसुनको पेस्ट २ टेबुल चम्चा, सुकेको खुर्सानी पोलेर तयार पारिएको पेस्ट २ चम्चा वा आवश्यकता अनुसार, पोलेको गोलभेँडा १ सय ग्राम, नुन स्वादअनुसार, टिम्मुर १ चम्चा, हरियो लसुन १ मुठा तथा तोरीको तेल २ चम्चा ।   

पकाउने तरिका: आगोमा पोलेको मासुलाई एउटै साइजमा काट्ने । एउटा भाँडामा मासु, अदुवा, लसुनको पेस्ट, तोरीको तेल, गोलभेँडाको पेस्ट, खुर्सानीको पेस्ट, नुन, मरीच, टिम्मुर तथा हरियो लसुन हालेर मोल्ने । अब यो छोइला स्न्याक्स वा खाजाका रूपमा खान सकिन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस