aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
सांसदले नै अतिक्रमण गरे रेलमार्गको जग्गा, ४२ वर्षपछि अख्तियारले सुरु गर्‍यो अनुसन्धान

सांसदले नै अतिक्रमण गरे रेलमार्गको जग्गा, ४२ वर्षपछि अख्तियारले सुरु गर्‍यो अनुसन्धान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ बैशाख २०७६
सांसदले नै अतिक्रमण गरे रेलमार्गको जग्गा, ४२ वर्षपछि अख्तियारले सुरु गर्‍यो अनुसन्धान

काठमाडौं । ९२ वर्षअघि भारतको सहयोगमा निर्माण गरी ३५ वर्षसम्म सञ्चालन भएको परवानीपुर–अमलेखगन्ज रेलमार्गको जग्गा वर्षौँदेखि व्यक्ति र संस्थाले कब्जा गरेका छन् । त्रिभुवन राजपथ निर्माण भएको तीन वर्षपछि ०२२ मा रेल सञ्चालन बन्द भएसँगै ४२ किमि रेलमार्गको जग्गा अतिक्रमणमा परेको हो । त्यतिवेला रेल्वेको सम्पत्ति नेपाल यातायात संस्थानकै स्वामित्वमा थियो । 

पूर्व र बहालवाला सांसदहरूबाटै रेलमार्गको जग्गा अतिक्रमणमा परेको हो । परवानीपुरमा रेलमार्गको १० धुर जग्गा अतिक्रमण गरी पूर्वसभासद नज्मा खातुनले पक्की घर ठड्याएकी छिन् । खातुनको घर भएको १२ धुर जग्गामध्ये १० धुर रेलमार्गको भएको अनुसन्धानमा भेटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयले जनाएको छ । खातुनको परिवार अहिले यही घरमा बस्दै आएको छ । 

यस्तै, प्रदेश–२ कि बहालवाला सांसद सीता गुरुङले पनि अमलेखगन्जमा रेलको संरचना अतिक्रमण गरेर घर बनाएकी छिन् । कर्मचारीका लागि बनाइएको भवन भएकै ठाउँमा जग्गा अतिक्रमण गरेर घर बनाएकी हुन् । अमलेखगन्जमा तत्कालीन समयमा बनाइएको कर्मचारीको भवन र वाल भत्किएपछि सोही ठाउँमा मिचेर गुरुङले घर बनाएको अख्तियार स्रोतले जनायो । अख्तियारले अतिक्रमित जग्गाको विस्तृत विवरण लिइसकेको छ । 

०३३ पछि ०५० सम्म व्यक्ति र संस्थाहरूबाट रेल्वेको जग्गा अतिक्रमण भएको अख्तियारको छानबिनमा खुलेको छ । अख्तियार हेटौँडा कार्यालयका अनुसार २२ असार ०७१ देखि अख्तियार केन्द्रले प्रारम्भिक अनुसन्धान गरे पनि १ साउन ०७५ मा केन्द्रमा उजुरी परेपछि हेटौँडा कार्यालयबाट विस्तृत अनुसन्धान सुरु भएको हो । 

टिकट घरमा बाख्राको खोर
परवानीपुर–अमलेखगन्ज रेलमार्गका लागि निर्माण गरिएका टिकट घर, स्टोर, कार्यालय भवन, कर्मचारी भवन र रेल लिक सबै अतिक्रमणमा परेका छन् । रेल लिकका संरचना बेचिएका थिए । सिमरा स्टेसनमा रहेको टिकट घरमा प्यारीमैंया क्षेत्रीले बाख्राको खोर बनाएको भेटिएको अख्तियारले जनाएको छ । 

यस्तै सिमराकै टिकटघरमा ०७० देखि मानव अधिकारका लागि एकल महिला समूह छहारी सञ्चालनमा छन् । सिमरास्थित कर्मचारी आवासमा आत्मज्ञान प्रचार संघ राखिएको छ । अमलेखगन्जको स्टोरमा ०६२ देखि अमलेश्वर उपभोक्ता समितिको कार्यालय सञ्चालनमा छ । अमलेखगन्ज स्टोर ०५८ देखि नवसिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पनि अतिक्रमण गरेर कार्यालय बनाएको अख्तियारले जनाएको छ । नयाँ पत्रिका दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस